शुक्लाफाँटामा च्याउ खोज्न गएका ३ महिलाको उद्धार, १४ जना अझै सम्पर्कविहीन

शुक्लाफाँटामा च्याउ खोज्न गएका ३ महिलाको उद्धार, १४ जना अझै सम्पर्कविहीन

महेन्द्रनगर। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १७ जनामध्ये तीन जना महिलालाई नेपाली सेनाले सकुशल फेला पारेको छ भने अन्य १४ जना अझै सम्पर्कविहीन रहेका छन्।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको रणसिंहदल गणका सहसेनानी सुमन केसीको नेतृत्वमा रहेको टोलीले आज बिहान बेल्डाँडी गाउँपालिका–२ का लक्ष्मी थापामगर, सीता चौधरी र मञ्जु राना क्षेत्रीलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको छ। सेनाले उनीहरूलाई निकुञ्जभित्रको लल्लेरी पोस्टबाट करिब चार किलोमिटर टाढाको दूरीमा फेला पारेको हो।

सेनाका अनुसार बेल्डाँडीका तीनै जना आइतबार लुकीछिपी च्याउ खोज्नका लागि निकुञ्जभित्र प्रवेश गरेका थिए।

यसैगरी, भीमदत्त नगरपालिका–१९ बागफाँटा क्षेत्रबाट आइतबार दिउँसो निकुञ्ज प्रवेश गरेका १४ जना महिलाको समूह भने अझै सम्पर्कविहीन रहेको छ।

सम्पर्कविहीन भएका महिलाहरूको खोजीका लागि निकुञ्जभित्र ठूलो सङ्ख्यामा सैनिक टोली परिचालन गरिएको रणसिंहदल गणले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले निकुञ्जको जङ्गलमा हराइरहेका महिलाहरूको तीव्र रूपमा खोजी भइरहेको जानकारी दिएका छन्।

छुटाउनुभयो कि ?