दार्चुला। दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा भीषण पहिरो खस्दा चमेलिया नदी थुनिएको छ। सोमबार दिउँसो पहाडको माथिल्लो भागबाट खसेको ठूलो पहिरोले नदी थुनेपछि करिब आधा घण्टासम्म कृत्रिम ताल बनेको थियो।
नदीले आफैँ कटान गरेर बग्न थालेपछि तत्कालको ठूलो जोखिम टरे पनि पहिरो झर्ने क्रम नरोकिएकाले तटीय क्षेत्रमा बाढीको खतरा कायमै छ। पहिरोको उच्च जोखिममा परेको भट्टार बस्तीका १० देखि १५ घरपरिवारका करिब ३० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले जानकारी दिनुभयो। विस्थापित हुनेमा अधिकांश वृद्धवृद्धा र बालबालिका रहेका छन्।
विस्थापितहरूलाई नजिकैका आफन्त तथा बस्तीमा राखिएको छ भने गाउँपालिका र वडा कार्यालयमार्फत टेन्ट र म्याट उपलब्ध गराइएको छ।
नदी पुनः थुनिन सक्ने जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले चमेलिया नदी तटीय क्षेत्रका बासिन्दा र जलविद्युत् आयोजनाका कर्मचारीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। भिरालो भूगोल र निरन्तरको वर्षाका कारण खसेको पहिरोले खेतीयोग्य जमिनमा क्षति पुर्याए पनि मानवीय क्षति भने भएको छैन। प्रभावित क्षेत्रमा प्रहरी परिचालन गरिएको छ।