काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा ऐन तर्जुमासहित नेपाल शिक्षक महासंघले उठाउँदै आएका विभिन्न मागका विषयमा महासंघका अध्यक्ष तथा प्रतिनिधिहरूसँग छलफल गरेका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा बुधबार भएको छलफलमा शिक्षा ऐनलाई शीघ्र टुंगाेमा पुर्याउने र दुई पक्षीय संवादमार्फत समस्याहरूको समाधान खोज्ने सहमति भएको छ।
छलफलका क्रममा मन्त्री पोखरेलले विद्यालय शिक्षा ऐन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिँदै छुटेका विषय तथा सरोकारवालाहरूबाट प्राप्त राय-सुझावहरूलाई ऐनमा समेटिने प्रतिबद्धता व्यक्त गरे।
नयाँ शिक्षा ऐनले गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्नुका साथै विद्यार्थीहरूलाई स्वदेशमै अध्ययन गर्ने वातावरण निर्माणमा जोड दिने उनको भनाइ थियो।
यसैगरी, हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित भएका विद्यार्थीहरूको अध्ययनलाई निरन्तरता दिने उपायहरूबारे पनि बैठकमा छलफल भएको थियो।
विपद्का समयमा विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न विद्यालयहरूमा समय-समयमा विपद् व्यवस्थापनसम्बन्धी अभ्यास गराउनुपर्नेमा मन्त्री पोखरेलले जोड दिए।
कार्यक्रममा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले विद्यालय शिक्षा सुधारका लागि ऐनलाई थप समृद्ध बनाएर लैजानुपर्ने र शिक्षा क्षेत्रका समस्या समाधानका लागि मन्त्रालय तथा शिक्षक महासंघबीचको सहकार्यलाई बलियो बनाउनुपर्ने बताए।
छलफलमा मन्त्रालयका उच्च अधिकारीका साथै नेपाल शिक्षक महासंघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।