काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानकै आसपास अवस्थित छ।
यतिबेला कोशी प्रदेशको तराई तथा मधेश प्रदेशमा आंशिक बदली रहेको छ भने देशका बाँकी भूभागमा साधारणतया बदली छ। बागमती प्रदेशका केही स्थानका साथै कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यस्तै, कोशी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान र मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। मधेश र लुम्बिनी प्रदेशका तराई भूभागमा भने हावाहुरीको समेत सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
आज राति पनि देशभर साधारणतया बदली नै रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
तराईतर्फ कोशीका केही, मधेश, बागमती र गण्डकीका थोरै तथा लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा मध्यम वर्षा हुन सक्नेछ। रातिको समयमा कोशी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।