काठमाडौं : नेपाल औषधी उत्पादक सङ्घले नेपालमा ३ महिनासम्म औषधी अभाव नहुने बताएको छ । काठमाडौँमा आज पत्रकार सम्मेलन गरी सङ्घ सँग ३ महिना सम्मकालागि पुग्ने औषधी , कच्चा पदार्थ सहायक कच्चा पदार्थ र प्याकिङ मेटेरियल मौज्दात रहेको जनाएको छ । सङ्घले कोरोना भाइरस विश्वव्यापी बनिरहेका बेला आउन सक्ने सम्भावित सङ्कटका क्रममा नेपालमा औषधि अभाव हुन नदिने बताएको छ ।
विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को प्रभावपछि भारतले २६ उत्पादन र कच्चापदार्थको निर्यातमा रोक लगाएपछि नेपालमा पनि सम्बन्धित औषधिको कमी हुने हल्लाका बिच सङ्घले औषधिको कमी हुन नदिने जनाएको हो । नेपालमा हाल एलोपेथिक औषधिका ६२ उद्योग सञ्चालनमा छन् भने ४२ अन्य नयाँ उद्योग निर्माणाधीन छन् । सङ्घका महासचिव विप्लव अधिकारीले शुक्रवार एक प्रेस वक्तव्य निकाल्दै भूकम्प र नाकाबन्दीका बेला पनि देशमा औषधि अभाव हुन नदिएको स्मरण गराएका छन् ।
महासचिव अधिकारीले हाल भारतले २६ प्रकारका औषधि र कच्चा पदार्थको निर्यातमा रोक लगाएको स्मरण गराउँदै अधिकारीले नेपालमै उत्पादित कुनै पनि औषधिको अभाव हुन नदिने बताए । सम्मेलनमा सङ्घका अध्यक्ष जी नारायणबहादुर क्षेत्रीले भूकम्प, नाकाबन्दीजस्ता विपद्को समयमा पनि औषधि अभाव हुन नदिएको अवगत गराउँदै अहिले चीनबाट पनि कच्चापदार्थ आइरहेको बताए ।
उनले भने “भारत र चीन हामीलाई व्यापारिक दृष्टिकोणले सरल भएकाले हामीले धेरैजसो कच्चा पदार्थ त्यहाँबाट खरिद गर्ने गरेका हौँ, विश्वका अन्य मुलुकमा पनि कच्चा पदार्थ बन्ने र हामी जुनसुकै मुलुकबाट कच्चापदार्थ खरिद गरी औषधिको अभाव हुन दिने छैनौँ ।” सरकारले विपद्मा मात्र औषधिको महत्त्व बुझ्ने गरेको बताउँदै देशलाई औषधिमा आत्मनिर्भर बनाउनुपर्नेमा अब सबै सचेत हुनुपर्ने बताए ।
उनले विदेशी औषधिलाई हारगुहार गर्नुको सट्टा सरकारले नेपाली उत्पादक सङ्घसँग सहकार्य गर्न आग्रह गर्दै आफूहरू नेपाल र नेपालीलाई सहज, सुलभ र गुणस्तरीय औषधि पुर्याउन सदैव तत्पर र सक्षम रहेको स्पष्ट पारे ।