सर्जिकल मास्क अभाव

सर्जिकल मास्क अभाव

सुर्खेत : प्रदेश राजधानी वीरेन्द्रनगरस्थित मेडिकलहरुमा सर्जिकल मास्क अभाव देखिएको छ । नेपालमा पनि कोभिड – १९ को संक्रमण फैलिन सक्ने सन्त्रास बढेपछि यहाँका व्यवसायीले महँगो मूल्यमा मौज्दात सर्जिकल मास्क काठमाडौँ निर्यात गरेपछि अभाव सिर्जना भएको हो ।

नेपाल औषधि व्यवसायी सङ्घ सुर्खेतका अध्यक्ष रणबहादुर खड्काले जिल्लामा रहेका करीब १०० मेडिकल तथा सर्जिकल सप्लायर्समा हाल मास्क मौज्दात नरहेको जानकारी दिनुभयो । “डिलरमै मास्क छैन, हामीसँग भएको पनि सकियो,” उहाँले भन्नुभयो, “एक महिनादेखि मास्क ल्याउने प्रयास गरेका छौँ, कतै पाइएको छैन ।” वीरेन्द्रनगरमा सर्जिकल मात्र नभई कपडाका मास्क पनि अभाव देखिन थालेको छ । सुर्खेत उद्योग वाणिज्य सङ्घ, रेडिमेड तथा वस्तुगत समितिका अध्यक्ष खड्कप्रसाद ढकालले कपडाका मास्क पनि विस्तारै अभाव देखिन थालेको जानकारी दिनुभयो । कपडाको मास्क किन्ने ग्राहकको सङ्ख्या बढेको उहाँले बताउनुभयो ।