सप्तरी : तीस वर्षीया एक महिलालाई सप्तरी, बलात्कार गरेको कसूरमा सप्तरीको रूपनी गाउँपालिका–१ का ३८ वर्षीय देवेन्द्रकुमार यादवलाई आज सात वर्ष कैद सजायको फैसला भएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले यादवलाई सात वर्ष कैद सजायको फैसला गरेको अदालतले जानकारी दिएको छ । जिल्ला अदालतको आदेशमा यादव चैत ५ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।
बलात्कार गरी भाग्न खोज्दा पीडितले बाहिरबाट ढोका लगाई होहल्ला गरेपछि जम्मा भएका गाउँलेले प्रहरीलाई खबर गरी विसं २०७५ फागुन ११ गते राति आरोपितलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ । पीडितले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा २०७५ फागुन १२ गते उजुरी दिएपछि प्रहरीले उजुरी दर्ता गरी कारवाही थालेको हो । पीडितका श्रीमान् वैदेशिक रोजगारका लागि मलेशियामा छन् । आपसमा आर्थिक लेनदेनको विवाद रहेको र महिलाले आफूलाई फोन गरी बोलाएर फसाएको आरोपितको भनाइ छ ।