काठमाडौ : कोरोना भाइरसले एकको मृत्यु र केही प्रभावित भएलगत्तै अस्ट्रेलियामा चामल, दाल लगायतका खाद्य सामग्री र ट्वाइलेट पेपर लगायतका सामान अत्यधिक विक्री हुन थालेपछि सुपर मार्केट रित्तिन थालेका छन्।
अस्ट्रेलियाको कोल्स सुपरमार्केटले पसलहरूमा केही सामान अत्यधिक विक्री हुन थालेपछि सहज आपूर्तिका लागि काम सुरू गर्नुपर्ने जनाएको छ।
‘ट्वाइलेट पेपर, हात धुने एन्टिब्याकटरियल साबुन र स्यानिटाइजरको अत्यधिक माग देखिएको छ र अहिले धेरै स्टोरहरूमा यसको कमी रहेको छ,’ कोल्सबाट प्रकाशित विज्ञप्तिमा भनिएको छ।
प्रधानमन्त्री स्कट मोरिशनले ठूला सुपरमार्केटहरूका प्रतिनिधिहरूसँग छलफल गर्ने र सामान सहज रूपमा आपूर्ति गर्न आग्रह गर्ने बताएका छन्।‘घरमा चाहिने सामानहरूको आपूर्तिमा म कुनै दीर्घकालीन समस्या देख्दिनँ,’ प्रधानमन्त्री मोरिशनले भनेका छन्।
कोरोना संक्रमितलाई छुट्टै ठाउँमा राखिने र भिडभाडमा जान नदिने अस्ट्रेलिया सरकारले लिएको छ। अहिलेसम्म अस्ट्रेलियामा कोरोनाले एक जनाको मृत्यु भएको छ भने ३४ जनामा संक्रमण देखिएको छ।
इरान र चीनबाट आउने विदेशी नागरिकहरूलाई अस्ट्रेलिया प्रवेशमा रोक लगाइएको छ। अस्ट्रेलियामा भेटिएका ३४ संक्रमितमध्ये १५ जना चीन भ्रमण गरेर आएका र १० जना भने डायमण्ड प्रिन्सेस पानीजहाजमा रहँदा संक्रमित भएका थिए।
कोरोनाभाइरसले संसारभर ३ हजार भन्दा बढीको ज्यान गइसकेको छ भने ८८ हजारभन्दा बढी मानिस संक्रमित छन्।६७ देशमा यसको संक्रमण भेटिएको छ।