सुरु भयो यस बर्षको होली पर्व

सुरु भयो यस बर्षको होली पर्व

काठमाडौं : उपत्यकासहित देशभर आज (मंगलबार)देखि होली पर्व शुरु भएको छ । होली पर्व सुरु भएको जनाउ दिन काठमाडौंको वसन्तपुरमा चीर ठड्याइएको छ । मंगलबार बिहान ७ बजेर ५७ मिनेटको साइतमा विधिपूर्वक चीर ठड्याइएको हो । हनुमान ढोकाका चार ठाउँ (सुन्दरी चोक, दाग चोक, मुल चोक र वसन्तपुर)मा चीर राखिएको छ ।

चीर ठड्याएपछि सहभागीहरुबीच रंगीबिरंगी अबिर दलेर खुसीयाली मनाइएको थियो । यस वर्ष होलीको मुख्य दिन काठमाडौंलगायत पहाडी जिल्लाहरुमा फागुन २६ गते र तराई मधेसका जिल्लाहरुमा फागुन २७ गते सार्वजनिक विदा दिइएको छ । रंगीचंगी कपडाहरु बाँधिएको तीन तले चीर फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिन्छ ।