काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले पूर्व पार्टी नेकपा (एमाले) छाडेको निर्णयप्रति पश्चाताप व्यक्त गरेका छन्।
पार्टीभित्रका पछिल्ला तनाव र अन्तरविरोधबीच खनालले आफूले एमाले छोड्नु गल्ती भएको स्वीकार गरेका छन्। एक टेलिभिजन अन्तर्वार्तामा नेता खनालले यस्तो धारणा व्यक्त गरेका थिए।
त्यसको प्रतिक्रिया स्वरुप एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वरिष्ठ नेता झलनाथ खनाललाई राजीनामा दिएर सहज रूपमा मार्गप्रशस्त गर्न सुझाव दिएका छन्। कोशी प्रदेश समिति बैठकमा सहभागी हुन विराटनगर पुगेका नेता नेपालले पत्रकारको प्रश्नमा यस्तो सुझाव दिएका हुन्।
‘उहाँले त्यसो भन्नु भएको हो भन्ने मलाई विश्वास लागेको छैन’, अध्यक्ष नेपालले झलनाथ खनालको भनाइप्रति टिप्पणी गर्दै भने, ‘अचेल त एआईको जमाना छ, नबोलेको कुरा पनि बोलेको जस्तो बनाइन्छ।’ यद्यपि उहाँले थप्नुभयो, ‘उहाँले पार्टीबाट बिदा लिनुपर्छ।’
नेपालले माओवादी केन्द्रसँगको सहकार्यलाई संस्थागत निर्णयका रूपमा अगाडि बढाइएको स्पष्ट गरे। ‘माओवादीसँग समाजवादी मोर्चालाई निरन्तरता दिने र सम्बन्धलाई विश्वासको जगमा खडा गर्ने विषयमा छलफल भइरहेको छ,’ उनले पत्रकारसँगको कुराकानीमा भने, ‘यो हाम्रो पार्टीको संस्थागत निर्णय हो, यसमा कसैले विरोध गर्नुको अर्थ छैन।’
उनले माओवादीसँग पार्टी एकीकरणको कुरा भने नभएको बताए।
खनालले २०७८ सालमा अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै माधवकुमार नेपालसँगै नेकपा (एकीकृत समाजवादी) गठन गरेका थिए। तर पछिल्लो समय पार्टीभित्र आफूलाई पछार्ने खेल बढेको, निर्णय प्रक्रियामा सहभागी गराइएन, र वैचारिक बहस होइन, गुटगत अंकगणित हावी भएको भन्दै खनाल असन्तुष्ट हुँदै आएका छन्।
उनीहरु बीचको पछिल्लो टिप्पणीलाई हेर्ने हो भने पार्टीमा गम्भीर मतभेद चुलिएको संकेत दिएको छ।