प्रधानमन्त्री शाह स्वदेश फिर्ता, जलवायु संकटबारे निमित्त सचिवद्वारा ब्रिफिङ

प्रधानमन्त्री शाह स्वदेश फिर्ता, जलवायु संकटबारे निमित्त सचिवद्वारा ब्रिफिङ

काठमाडौं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई प्रधानमन्त्री बालेन्द्र शाह शनिबार अपराह्न स्वदेश फर्किएका छन्। अमेरिकाको न्यूयोर्कमा आयोजित महासभालाई सम्बोधन गरेर फर्किएका प्रधानमन्त्रीको आगमनसँगै परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा पत्रकार सम्मेलन गर्दै भ्रमणबारे जानकारी गराए।

प्रेस ब्रिफिङका क्रममा निमित्त सचिव ढकालले जलवायु परिवर्तन नेपालका लागि मानवीय चुनौती मात्र नभई समग्र विकासकै ठूलो बाधक बनेको बताए। विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा पनि कम रहे तापनि यसको गम्भीर र असमान असर भोग्न नेपाल बाध्य भएको उनले उल्लेख गरे।

जलवायु संकटका कारण हिमाली पारिस्थितिक प्रणालीमा ठूलो असर परेको भन्दै उनले हिमनदी र हिमतालहरू तीव्र रूपमा पग्लिँदा बाढी, पहिरो तथा हिमपहिरोजस्ता प्राकृतिक विपद्को जोखिम उच्च बनेको चेतावनी दिए। यस्ता जोखिम न्यूनीकरणका लागि हिमतालहरूको निरन्तर अनुगमन र पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।

हिमाली क्षेत्रको विपद्ले सीमापारिसम्म असर पार्ने भएकाले नेपालले 'हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम' (Himalayan Climate Resilience Mechanism) स्थापनाको प्रस्ताव अघि सारेको सचिव ढकालले जानकारी दिए। यस संयन्त्रमार्फत हिमाली क्षेत्रमा जलवायु परिवर्तनका जोखिमसँग जुध्न क्षेत्रीय सहकार्य, पूर्वसूचना र विपद् व्यवस्थापनमा प्रभावकारी समन्वय गर्न सकिने नेपालको विश्वास छ।

छुटाउनुभयो कि ?