बागमतीका मुख्यमन्त्री लामाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता, २१ सांसदको हस्ताक्षर

बागमतीका मुख्यमन्त्री लामाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता, २१ सांसदको हस्ताक्षर

हेटौँंडा। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। मुख्यमन्त्री लामालाई नेपाली कांग्रेस संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता भएको हो।

शुक्रबार नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालयमा लामाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको काग्रेस प्रदेशसभाका एक सदस्यले बताएका छन्। अविश्वासको प्रस्तावमा नेपाली कांग्रेसका २१ सांसदहरूले हस्ताक्षर गरेका छन्।

आर्थिक वर्ष ०८२/०८३ को बजेट निर्माणका क्रममा मन्त्री, सांसदबीच विवाद चुलिएको थियो। उनको कार्य शैलीप्रति कांग्रेसको केन्द्रीय समितिको बैठकमा समेत चर्चा पाएको थियो। उनलाई हटाउन कांग्रेसभित्रै आवाज उठ्दै आएको थियो।

कांग्रेस संसदीय दलको विधान अनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री रहन्छन्। अविश्वासको प्रस्तावले सार्थकता पाए बागमती प्रदेश सरकारमा नेतृत्व परिवर्तन हुनेछ। बागमती प्रदेशमा कांग्रेसबाट ३७ जना निर्वाचित सदस्य छन्। कांग्रेस बागमती प्रदेशसभाको सबै भन्दा ठूलो दल हो।

बागमती प्रदेश सभापति इन्द्र बाँनियाले लामाप्रति असन्तुष्टि बढेको प्रतिक्रिया दिएका छन्। २१ जनाले अविश्वास प्रस्तावमा हस्ताक्षर भएको उनको दाबी छ।

यता लामा नेतृत्व बागमती प्रदेश सरकारका चारजना मन्त्रीले राजीनामा दिएका छन्। सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछाने र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले राजीनामा पदबाट राजीनामा दिएका हुन्।