काठमाडौं। राजावादी आन्दोलनको मूल नेतृत्व गरिरहेका उच्च तहका नेताहरूलाई पक्राउ गर्न प्रहरी टोली सक्रिय बनेको छ।
प्रहरीका अनुसार, राजावादी मोर्चाको कमाण्ड सम्हालेका प्रसाईंको शुक्रबार दिउँसैबाट खोजी भइरहेको छ । तर, उनी राति अबेरसम्म पनि भेटिएका छैनन्।
प्रहरीले उनीसहित आन्दोलनमा खटिएका राप्रपाका अन्य दुई शीर्ष नेतालाई भने ललितपुरको सातदोबाटोबाट शुक्रबार साँझ प्रकाउ गरेको छ। पक्राउ परेका राप्रपा वरिष्ठ नेता रविन्द्र मिश्रका अनुसार ललितपुरको बीएण्डबी अस्पतालमा भर्ना भएका केही घाइतेलाई भेटेर फर्कने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो।
आन्दोलनका क्रममा दुई व्यक्तिको ज्यान गएपछि प्रहरीले वरिष्ठ उपाध्यक्ष मिश्र सांसद धवल शमशेर राणासहित १७ जनालाई पक्राउ गरेको हाे।
पक्राउ पर्नेमा सेफोर्ड लिम्बु, सन्तोष तामाङपनि रहेका छन्। प्रहरीले फरार रहेका दूर्गा प्रसाईलाई पनि खोजी गरिरहेको छ।
राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको उनीहरु अभियोगमा पक्राउ परेका हुन्।
उता, सोही अभियानका संयोजक नवराज सुवेदीको घरमा भने प्रहरी परिचालन भएको छ ।
उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर अहिले प्रहरीले पक्राउ नगरेको र अवस्था हेरेर आवश्यक निर्णय लिने बताएको छ ।
शुक्रबार दिउँसो तीनकुनेमा प्रसाईंको कमाण्डमा भएको हिंसात्मक प्रदर्शनका कारण अवस्था तनावग्रस्त बन्न पुगेको थियो ।
अवस्था तनावपूर्ण बनेपछि प्रशासनले भोलि बिहान सात बजेसम्मका लागि काठकाडौंका विभिन्न स्थानमा कर्फ्यु जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार भोलि बिहान सात बजेसम्म कर्फ्यु जारी रहनेछ ।