काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले तेस्रो जनआन्दोलन सुरु भएको टिप्पणी गरेका छन्। आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा काठमाडौंमा जम्मा भएका मानिसहरुतर्फ लक्षित गर्दै उनले राजसंस्था पुनर्स्थापनाको पक्षमा तेस्रो जनआन्दोलन सुरु भएको र यो सकभर छोटो होस् भन्ने आफूहरुको कामना रहेको बताएका हुन् ।
सत्तामा बसेकाहरुले ‘यो आजको मात्रै भीड हो, भोलिदेखि केही हुँदैन’ भन्ने ठानेको खण्डमा अर्कोचोटी जम्मा भएको भीड उनीहरुको नियन्त्रणभन्दा बाहिर जाने नेता मिश्रको चेतावनी छ । आफूहरुले बंगलादेश, श्रीलङ्का र सिरियाको जस्तो नेताहरु भाग्नुपर्ने र देशमा जनधनको क्षति हुने स्थिति नआओस् भन्ने चाहेको उनले सुनाए ।
‘अहिले पनि ठूला दलका ठूला नेताहरुले यो केही पनि होईन, भूत जाग्न खोजेको, अग्रगमनको चक्का पछिल्तिर फर्किँदैन भनेर तुच्छ भाषा प्रयोग गरिराखेका छन् । उनीहरुले यसैगरी तुच्छ भाषा प्रयोग गरिराख्ने हो भने बंगलादेशलाई सम्झिए पुग्छ । जहाँ पहिला शासकहरुले तुच्छ भाषा प्रयोग गरेर केही पनि होईन भने । हाम्रो भनाइ चाहीँ के हो भने अब बंगलादेश, श्रीलङ्का र सिरियाको जस्तो नेताहरु भाग्नुपर्ने र देशमा जनधनको क्षति हुने स्थिति नआओस्,’ उनले भने ।
नवीन समझदारीमा शान्तिपूर्ण रुपमा राजनीतिक दललाई पनि ठाउँ हुने र राजसंस्था पनि स्थापना होस् भन्ने आफूहरुको कामना रहेको उनले सुनाए । यसरी ठूला दलका शीर्ष नेताहरुले बेलैमा सोचेर नवीन समझदारीको नआए देश नै छाडेर भाग्नुपर्ने स्थिति आउने उनको चेतावनी छ ।
‘राजनीतिक दललाई पनि ठाउँ हुने, राजसंस्था पनि स्थापना हुने उनीहरु नवीन समझदारीमा जाउन् भन्ने हाम्रो कामना हो । गएनन् भने समय अलिकति लम्बिन्छ । तर, त्यो समय लम्बियो भने अहिलेका नेताहरु देश छोडेर भाग्नुपर्ने स्थिति आउँछ । यो नहोस् भन्ने हाम्रो कामना हो,’– उनले भने ।