‘नेपाल–बङ्गलादेशबीचको सम्बन्धलाई गाढा र फलदायी बनाउँदै लैजाने सहमति

काठमाडौँ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र बङ्गलादेशबीचको सम्बन्धलाई सुदृढ गर्दै आर्थिक सम्बन्धलाई अझ गाढा र फलदायी बनाउँदै लैजाने सहमति भएको बताउनुभएको छ । बङ्गलादेशको तीन दिने औपचारिक भ्रमण पूरा गरी हिजो अपराह्न स्वदेश फर्कनुभएका मन्त्री ज्ञवालीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै जलविद्युत्लगायत ऊर्जाका स्रोतको विकास एवं व्यापार गर्ने विषयमा सहमति भएको बताउनुभयो ।

बङ्गलादेशका परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलसँग आफूले वार्ता गरेको र त्यसमा द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धलाई अझ फलदायी बनाउने तथा आपसी हितका सबै पक्षमा सारभूत छलफल भएको उहाँले जानकारी दिनुभयो । “बैठकमा द्विपक्षीय व्यापार प्रवद्र्धन, व्यापार सन्तुलन, व्यापारको सम्भाव्यताको खोजी, अवरोध हटाउने, शुल्क घटाउने र नयाँ निर्यातयोग्य वस्तुको उत्पादन वृद्धि गर्ने सहमति भएको छ”, बैठकबारे थप जानकारी दिँदै उहाँले भन्नुभयो ।

बङ्गलादेशले नेपालाई प्रदान गरेको पारवहन सुविधाको उच्चतम उपयोगका लागि बङ्गलादेशले सरल एवं सहज ढङ्गबाट पारवहन सेवा प्रदान गर्ने विषयमा सकारात्मक छलफल भएको उहाँको भनाइ थियो । नेपाल र बङ्गलादेशबीच सम्पर्क सञ्जाल (कनेक्टिभिटी) लाई अझ विस्तार गर्न दुई देशका नजिक रहेको शहरबीच सिधा हवाई उडानको व्यवस्था गर्ने, सडक मार्गको सुधार तथा स्तरोन्नति गर्ने, रेलमार्गको सञ्जाल विस्तार गरी दुई मुलुकलाई जोड्ने, नेपालको नदीहरु भारत र बङ्गलादेशका नदीमा जोड्ने र जलमार्गको विकास गर्ने समझदारी भएको छ ।

बैठकमा नेपालको ऊर्जा, कृषि, पर्यटनजस्ता क्षेत्रमा बङ्गलादेशबाट लगानी अभिवृद्धि गर्ने बारेमा समझदारी बनेको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । “पर्यटन क्षेत्रको विकासको लागि दुवै देशको सम्भाव्यतालाई आपसी सहकार्यको माध्यमबाट समेत उच्चतम उपयोग गर्ने समझदारी भएको छ”, उहाँले भन्नुभयो । नेपाल भ्रमण वर्ष, २०२० का अवसरमा बङ्गलादेशबाट नेपालमा बढीभन्दा बढी सङ्ख्यामा पर्यटकको आगमनका लागि बङ्गलादेश सरकार एवं जनतालाई आग्रह गरेको जानकारी उहाँले दिनुभयो ।

बङ्गलादेशमा ठूलो सङ्ख्यामा नेपाली विद्यार्थीले मेडिकल, इञ्जिनीयरिङजस्ता क्षेत्रमा अध्ययन गरिरहेको परिप्रेक्ष्यमा दुई देशबीच शैक्षिक क्षेत्रमा सम्बन्ध सुदृढ गर्दै उनीहरुलाई आवश्यक सहयोग उपलब्ध गराउने विषयमा सझदारी बनेको मन्त्री ज्ञवालीले बताउनुभयो । भूगोल, संस्कृति, सम्भाव्यता जस्ता पक्षबाट निकट रहेका छिमेकीमुलुकको रुपमा दुई देशका नागरिकबीचको सम्बन्धलाई अझ बढी सुदृढ बनाउने बारेमासमेत बैठकमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।