म्याग्दीमा पहिरो: ६ को मृत्यु, ३ बेपत्ता

म्याग्दीमा पहिरो: ६ को मृत्यु, ३ बेपत्ता

काठमाडौं। निरन्तरको अविरल वर्षाका कारण म्याग्दी जिल्लाका विभिन्न स्थानमा गएको पहिरोमा परी ६ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार स्थानीय नागरिक र प्रहरीको संयुक्त टोलीले पहिरोमा पुरिएका ६ जनाको शव फेला पारेको हो।

पहिरोमा परी मृत्यु हुनेहरूमा अन्नपूर्ण गाउँपालिका–८ की १९ वर्षीया सविन गर्बुजा, अन्नपूर्ण गाउँपालिका–३ फगामकी ५४ वर्षीया योमाया पाईजा, मालिका गाउँपालिका–३ डाँडागाउँका ३१ वर्षीय चिरण पुन र २८ वर्षीय देवबहादुर पुन रहेका छन्। त्यस्तै अन्नपूर्ण गाउँपालिका–६ गिवाङकी ५ वर्षीया बालिका जेनी पुर्जा र अन्नपूर्ण गाउँपालिका–३ फगामकी ७५ वर्षीया शिलकुमारी गर्बुजाको पनि पहिरोमा परेर मृत्यु भएको छ।

घटनामा परी अन्नपूर्ण गाउँपालिका–६ गिवाङका ७५ वर्षीय ओमबहादुर तिलिजा, अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाका २१ वर्षीय मनोज गर्बुजा र बेनी नगरपालिका–३ भकिम्ली छेपारेकी कुमारी विक (उमेर नखुलेको) बेपत्ता भएका छन्।

पहिरो प्रभावित क्षेत्रहरूबाट नेपाली सेनाको हेलिकप्टरमार्फत ७८ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हाल प्रभावित स्थानहरूमा थप प्रहरी परिचालन गरी उद्धार कार्य र राहत वितरण जारी राखिएको छ।

यसैबीच, पहिरोका कारण बेनी–जोमसोम र बेनी–दरबाङ सडक खण्डका विभिन्न स्थानमा यातायात आवागमन पूर्ण रूपमा ठप्प भएको छ। अवरुद्ध सडक सञ्चालनमा ल्याउन निरन्तर प्रयास भइरहेको सूचना अधिकारी तथा प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए।

छुटाउनुभयो कि ?