अपराधिक घटना बर्षेनी बढे : इन्सेक

अपराधिक घटना बर्षेनी  बढे : इन्सेक

काठमाडौँ : गत वर्षको तुलनामा यस वर्ष मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा वृद्धि भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज सार्वजनिक गरेको तथ्याङ्कमा २०१८ कोभन्दा २०१९ मा करिब एक हजार ५३२ घटना बढी भएका छन् । इन्सेकले तयार पारेको अभिलेखअनुसार सन् २०१९ मा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा छ हजार ६४२ पीडित भएका इन्सेकका कार्यकारी निर्देशक विनयराज गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत वर्ष सन् २०१८ मा यस्ता घटनामा पाँच हजार ११० पीडित भएका थिए । यस वर्ष मानवअधिकार उल्लङ्घनका घटनामा ६८ महिला र ८६२ पुरुष गरी जम्मा ९३० तथा ज्यादतीका घटनामा पाँच हजार ५८ महिला र ६५४ जना पुरुष गरी जम्मा पाँच हजार ७१२ पीडित भएका छन् । यस वर्ष प्रहरीको गोली लागी भोजपुरमा दुई, सप्तरीमा एक, सर्लाहीमा दुई, रुपन्देहीमा एक र कपिलवस्तुमा एक गरी सातको मृत्यु भएको इन्सेकको अभिलेखमा उल्लेख गरिएको छ ।

यस वर्ष यातनाका घटनामा १३, गिरफ्तारीका घटनामा ७०२, जातीय विभेदका घटनामा ६२, अमानवीय व्यवहारका घटनामा ४०, भेला तथा सङ्गठित हुने अधिकारमा ९८ र धम्कीका घटनामा ३५ तथा कुटपिटका घटनामा २७९ पीडित भएका अभिलेखमा उल्लेख गरिएको छ । यसैगरी, यस वर्ष विस्थापनका घटनामा आठ र बेपत्ता पारिएको घटनामा दुई जना पीडित भएको अभिलेख छ । सन् २०१९ मा महिलामाथि हुने हिंसाका घटनामा तीन हजार ३६४ पीडित भएको अभिलेख भयो । सो घटनामा गत वर्ष दुई हजार ८३४ घटना भएका थिए ।

अभिलेखअनुसार बेचबिखन तथा ओसारपसार प्रयासका घटनामा ६९, घरेलु हिंसाका घटनामा दुई हजार ७९, कथित बोक्सीको आरोपमा ४२, बलात्कारका घटनामा ५३०, बलात्कार प्रयासका घटनामा १४३, यौन दुव्र्यवहारका घटनामा ६३ र बेचबिखन तथा ओसारपसार घटनामा ५१ महिला पीडित भएको जनाइएको छ । परिवाजनका सदस्यबाट १२९ महिलाको हत्या भयो । गत वर्ष यो सङ्ख्या १२० थियो । इन्सेकका अनुसार भने जति दाइजो नल्याएको आरोपमा १३ महिलाको हत्या भयो भने सोही कारणले ३०० महिला हिंसामा परेको उल्लेख गरिएको छ ।