काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ।
बुधबार जिल्ला अदालत पर्साले लामिछानेसहित १४ जनाविरुद्ध पुर्जीविरुद्ध जारी गरेको हो। वीरगञ्जको सानोपाइला सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा रकम गएको देखिएको छ। त्यस सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको हो।
लामिछानेसँगै जिबी राई र पूर्व-डिआइजी छविलाल जोशीविरुद्ध पनि पुर्जी जारी भएको हो। सानोपाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा एक अर्ब ४५ करोड बढी रकम बचत थियो।
त्यसमध्ये उक्त सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा आठ करोडभन्दा बढी रकम प्रवाह भएको देखिएको सहकारी अपचलनसम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदनमा उल्लेख छ।
सहकारीले ऐनविपरीत सदस्यसमेत नरहेका वीरगञ्ज बाहिरका व्यक्तिलाई ऋण दिएर रकम अपचलन गरेको आरोप छ। बचतमध्ये करिब ९२ करोड रुपैयाँ कार्यक्षेत्र बाहिर गएर लगानी गरेर अपचलन गरेको आरोप छ।
यो सहकारीबाट जिबी राई सञ्चालक रहेको नेचर हब इन्टरनेसनलाई एक करोड ३७ लाख, नेचर नेष्ट प्रालिलाई एक करोड ८५ लाख र स्प्रिङ वुड रियल स्टेटलाई एक करोड एक लाख कर्जा प्रवाह गरिएको छ।
त्यस्तै, विशाल तामाङको नाममा ६ करोड ८३ लाख, छविलाल जोशीको नाममा एक करोड ८६ लाख, तीर्थराज लामिछानेको नाममा एक करोड ६ लाख, विमला पौडेलको नाममा दुई करोड सात लाख कर्जा प्रवाह गरिएको खुलेको छ।
लामिछानेमाथि कास्कीको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा पनि अनुसन्धान भइरहेको छ । अहिले उहाँमाथि चितवनमा बयान भइरहेको छ ।
गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई कास्की, रुपन्देही, काठमाडौं हुँदै अहिले चितवन लगिएको हो । सुरुमा लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो भने पछि कास्की प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थालेको थियो । प्रहरी अधिकृतहरूले यो बीचमा ऋण तिर्न भन्दै लामिछानेले काटेका चेकहरू समेत बरामद गरेको छ ।