काठमाडौँ । नेकपा (एमाले) को दसौँ सचिवालय बैठकले कार्यदलले तयार पारेको प्रतिवेदनलाई स्वीकार गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले उपाध्यक्ष रामबहादुर थापा 'बादल' संयोजकत्वको कार्यदलले पेस गरेको प्रतिवेदनलाई औपचारिक रूपमा ग्रहण गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै एमाले उपमहासचिव लेखराज भट्टले चार महिना लामो अध्ययन र छलफलपछि कार्यदलले तयार पारेको प्रतिवेदन बैठकले सर्वसम्मतिले स्वीकार गरेको जानकारी दिए। उनका अनुसार उक्त प्रतिवेदनमा नेतृत्व सम्बन्धी उठेका विवादित विषयहरूलाई हटाइएको छ।
सचिवालय बैठकबाट स्वीकृत भएको उक्त प्रतिवेदनमाथि सोमबारदेखि सुरु हुने एमाले केन्द्रीय समितिको बैठकमा विस्तृत छलफल हुने उपमहासचिव भट्टले बताए। केन्द्रीय समिति बैठकमा प्रतिवेदन पेस भई सोही आधारमा थप निर्णय लिइने बताइएको छ।