झापाबाट ५० लाख बराबरको अवैध कपडा बरामद

झापाबाट ५० लाख बराबरको अवैध कपडा बरामद

काठमाडौं : झापा र इलामको सीमा क्षेत्रबाट प्रहरीले ५० लाख रुपैयाँ बराबरको अवैध कपडा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, झापाले बिहीबार बिहान मेचिनगर–१२, धाइजनबाट मे १ ज १८०७ नम्बरको बोलेरो पिकअप भ्यानबाट अवैध कपडा बरामद गरेको हो ।

अवैध रुपमा भन्सार छली लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा विशेष सूचनाका आधारमा सामान बरामद गरिएको झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइराला बताए । प्रहरीले सामान बरामदसँगै सवारी चालक २७ वर्षीय विकाशचन्द्र राजवंशीलाई पनि पक्राउ गरेको छ । उक्त सामान बिक्रेता शिव स्टोर प्रा।लि। व्यवसायी सञ्जीव घोषको नाममा दर्ता कम्पनी भएको प्रहरी अधिकृतहरु बताएका छन् ।

घोष यसअघि पनि फर्जी भ्याट बिल प्रयोग गरी अवैध कारोबार गरेको आरोपमा पक्राउ परिसकेका छन् । सामान काठमाडौंको श्रेष्ठ सप्लायर्सलाई बिक्री गरिएको भनिए पनि इलामबाट बरामद गरिएको हो ।‘१४ लाख २८ हजार रुपैयाँ बराबरको बिल भए पनि सामान ५० लाख रुपैयाँको भएको पाइएको छ । बरामद सामानमा नेट साडी, सुती साडीलगायत ढाँकाको कपडा रहेको छ । पक्राउ परेका चालक र गाडीलाई आवश्यक कारबाहीका लागि प्रहरीले क्षेत्रीय राजश्व कार्यालय, इटहरीमा बुझाएको बताइएको छ ।