काठमाडौं। अविरल वर्षाका कारण जमिन गलेर ललितपुर महानगरपालिका–२४ धापाखेलमा सोमबार बिहान साढे दुई तले घर ढलेको छ।
स्थानीय सोवितकुमार थापाको साढे दुई तले पक्की घर बिहान करिब ६ बजेर ३५ मिनेटको समयमा भत्किएर ढलेको ललितपुर प्रहरी परिसरका प्रवक्ता गौतम मिश्रले जानकारी दिए। भिरालो सतहमा बनेको उक्त घर निरन्तरको वर्षाका कारण मुनिको माटो गल्दै जाँदा जगसहित खसेको हो।
घर जोखिममा रहेको पहिचान गरी प्रहरी र स्थानीय प्रशासनले आइतबार नै घर खाली गराएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ। उक्त घरमा थापासहित उनको तीन जनाको परिवार बस्दै आएको थियो।
घर ढल्दा त्यसको मुनि रहेको प्राकृतिक खोल्सो थुनिन पुगेकाले थप जोखिम नहोस् भनेर प्रहरी टोली घटनास्थल पुगी खोल्सो खुलाउने र गेग्रान पन्छाउने कार्य गरिरहेको छ।
उपत्यकामा केही दिनदेखि जारी अविरल वर्षाका कारण ढल, खोला किनार तथा भिरालो जमिन आसपासका बस्तीहरू जोखिममा परेका छन्।
प्रहरी प्रशासनले भिरालो तथा पहिरोग्रस्त क्षेत्रमा बस्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन र जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ।