देशभर फैलियो डेंगु, १४ सयभन्दा बढी विरामी

देशभर फैलियो डेंगु, १४ सयभन्दा बढी विरामी

काठमाडौँ । देशभर डेंगुका विरामीको संख्या १ हजार ४३२ पुगेको छ। योसँगै यस वर्ष हालसम्म ७३ जिल्लामा डेंगु फैलिइसकेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को विवरणअनुसार यस अवधिमा सबैभन्दा धेरै काठमाडौं जिल्लामा विरामी देखिएका छन्।

काठमाडौँ जिल्लामा १५९ जना डेंगुका विरामी रहेका छन्। काठमाडौँ पछि झापामा डेंगुका १२० जना विरामी रहेको पुष्टि भएको छ। चितवनमा ८३ जना, मकवानपुरमा ६५ जना संक्रमित भएको तथ्यांक छ।

यीबाहेक अरू जिल्लामा विरामीको संख्या ५० भन्दा थोरै छ। हुम्ला, डोल्पा र मुस्ताङबाहेक सबै जिल्लामा डेंगु संक्रमण देखिएको ईडीसीडीले जनाएको छ। प्रदेशतर्फ भने पनि बाग्मतीमा ४८२ जना र कोशीमा ३५० जना विरामी रहेका छन्।

डेंगु संक्रमण भएको पोथी जातको लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्छ। यो रोग चितवनमा पहिलोपटक सन् २००४ मा देखिएको हो। यसबाट बच्न झुल लगाएर सुत्ने, साँझ–विहान कपडा लगाएरमात्र बाहिर निस्कने, खाल्डाखुल्डीमा पानी जम्न नदिने, टायर, बोतल र ड्रम नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिए डेंगु रोकथाम गर्न सकिन्छ।