डेंगुले लियो महामारीको रुप, ७२ जिल्लामा फैलिएकोमा काठमाडौं सबैभन्दा बढी प्रभााबित

डेंगुले लियो महामारीको रुप, ७२ जिल्लामा फैलिएकोमा काठमाडौं सबैभन्दा बढी प्रभााबित

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै गइरहेको छ । सन् २०२४ को सुरू अर्थात गत पुसको मध्यदेखि जुन महिनाको दोस्रो साता अर्थात् हालसम्म १ हजार १७५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को पछिल्लो तथ्यांक अनुसार हाल ७२ जिल्लामा डेंगु संक्रमित भेटिएका छन् । मुगु, डोल्पा, हुम्ला, जुम्ला, मुस्ताङ जिल्लामा भने डेंगु भेटिएको छैन ।

बागमती प्रदेशमा ४०३, कोशीमा २७७, गण्डकीमा १८७, लुम्बिनीमा १३९, सुदूरपश्चिममा ११८, मधेशमा ३४ र कणालीमा १७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

जिल्लागत रूपमा सबैभन्दा धेरै काठमाडौंमा १२२, झापामा १११, चितवनमा ७४, मकवानपुरमा ५८, तनहुँमा ४६ जनामा डेंगु संक्रमित भेटिएका छन् । यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ ।

इडीसीडीका अधिकारीहरु अघिल्लो वर्षमा भन्दा अहिले डेंगु फैलिने क्रम तीब्र छ । अगस्ट, सेष्टेम्बर, अक्टोबर महिनामा संक्रमण बढी फैलिने गरेको छ । त्यसकारण यस वर्ष डेंगु फैलिने समय आउन बाँकी नै छ ।

अघिल्लो वर्ष ७७ वटै जिल्लामा डेंगु फैलिँदा ५२ हजार भन्दा बढी संक्रमित भएका थिए भने २० जनाको मृत्यु भएको थियो ।

डेंगु संक्रमित बिरामीलाई २ देखि ७ दिनसम्म ज्वरो आउने गर्छ । ज्वरो घटेका बेला २४ देखि ४८ घण्टासम्मको समय जटिल क्रिटिकल मानिन्छ । यस्तो बेलामा कतिपय व्यक्तिको शरीरबाट रक्तस्राव हुने र केहीमा रक्तचाप घट्ने सम्भावना उच्च हुन्छ ।

संक्रमित व्यक्तिलाई श्वास–प्रश्वासमा कठिनाइ भएमा, पेट दुख्ने, गिजाबाट रगत बगे जस्तो हुने, कालो दिसा आउने, थकान महसुस हुने, वान्ता हुँदा रगत देखिने, बिरामी बेहोस हुने, नाकबाट रगत आउने लगायत लक्षण देखिएमा डेंगु संक्रमण जटिल भयो भनेर बुझ्नुपर्ने र तुरुन्तै अस्पताल जानुपर्छ ।