अहिले लोकतन्त्र विरोधीहरुको आतंक बढी भयो : प्रचण्ड

अहिले लोकतन्त्र विरोधीहरुको आतंक बढी भयो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले देशमा लोकतन्त्र विरोधहरुको आतंक फैलिएको बताएका छन् ।

बिहीबार अखिल क्रान्तिकारीको २२ औ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड पहिले गलत गर्नेहरुका लागि वाईसीयल आतंक भएजस्तै अहिले गणतन्त्र रोक्न पहल गर्नेहरुको नै आतंक भएको टिप्पणी गरे । उनले भने, ‘अहिले देशमा प्रतिगमनका पक्षपाती केपी ओली आतंक आतंक छ, कमल थापा आतंक छ । जसले गणतन्त्र रोक्न पहल गर्यो त्यसको पो आतंक छ । के यो अचम्म भयो ? म अचम्म परेको छु ।’

उनले थपे, ‘कमल थापा आतंक छ, अनि हामीलाई टुक्रा टुक्रा पार्यौ भनेर उनीहरु दंग परेका छन् ।’ 

प्रचण्डले आफूहरुलाई भनाईमा धेरै पटक सिद्ध्याएको र सिद्ध्यो भनेपनि आफूहरु नसक्किएको उल्लेख गरे । उनले पार्टीभित्रैका केहीले आफ्नो पछाडि प्रचण्ड सकिएको भनेको टिप्पणी गरे । ‘मेरो अगाडि तपाइले नै हो गर्ने, भन्ने मेरैपछाडि प्रचण्ड सकिए भन्नेहरु १० भाई अहिले ओलीको पछिलागेका छन् ।’ प्रचण्डले भने । उनले पार्टीलाई अघि बढाउन सक्ने कोही भए त्यसलाई सम्पूर्ण जिम्मेवारी सुम्पिएर आफू बसेर किताब लेख्ने इच्छा व्यक्त गरे । तर त्यस्ता कोही नभएको पनि उल्लेख गरे । त्यसैले पनि अझै एक पटक अन्तिम लडाई लड्ने बताए । 

प्रचण्डले हामीले आँट गर्दा, बल गर्दा परिवर्तन सम्भव सम्भव हुने भन्दै हामी नभएपनि अर्कोले गर्छ भनेर सन्तोष गर्ने ठाउँ नभएको बताए । उनले अरुबाट सन्तोष लिनेठाउँ नभएको बरु आफूहरुले नगरे अरुले प्रतिक्रान्ति गरेर देश दुर्घटनामा पर्ने दावी गरे । 

समाजवादी क्रान्ति र रुपान्तरणका लागि ठूलै छलाङ मार्नुपर्ने भन्दै उनले भने, समाजवादी क्रान्तिको निम्ती एउटा नयाँ रुपान्तरणको निम्ती सानोतिनो सुधारको तरिकाले हुदैन । राम्रै छलाङ हान्नुपर्ने स्थिति छ । विद्यार्थीहरुको यो सम्मेलन त्यो दिशातिर जाने पाइला हुनसक्छ’, प्रचण्डको भनाइ छ ।  उनले विचारको राजनीतिलाई विकसित गर्दै अघि बढ्नुपर्ने भन्दै उनले क्रान्तिकारीका लागि यो अन्तिम अवसर पनि हुनसक्ने बताए ।