काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढी प्रभावित क्षेत्रका पीडितको खोजी, उद्धार तथा राहतका लागि शीघ्र सहजीकरण गर्न सरकारसँग आग्रह गरेको छ ।
आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको पार्टी सचिवालय बैठकले बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनःस्थापनाका लागि आवश्यक सहजीकरण गर्न सरकारसँग आग्रह गरेको हो ।
बैठकको निर्णयबारे जानकारी दिँदै रास्वपाका प्रवक्ता जगदीश खरेलले बाढीपीडितको उद्धार र राहतमा कुनै कमजोरी नहोस् भनेर सरकारलाई आग्रह गरिएको बताए ।
‘पीडित परिवारलाई राहत वितरण छिटोभन्दा छिटो हुनुपर्यो । मृतकको डीएनए पहिचान प्रक्रिया पनि चाँडो गर्नुपर्यो । पाँच हजारभन्दा बढी व्यक्ति बेपत्ता छन् । मृत्यु भएको पुष्टि भए कानुनी प्रक्रिया अघि बढाउन सहजीकरण गर्न सरकारसँग आग्रह गरिएको छ,’ उनले भने।