एमालेको अवरोधका बीच आर्थिक विधेयक २०७८ बहुमतले पारित

एमालेको अवरोधका बीच आर्थिक विधेयक २०७८ बहुमतले पारित

प्रतिनिधिसभामा आर्थिक विधेयक २०७८ बहुमतले पारित भएको छ ।

बिहीबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध र नाराबाजीका बीच उक्त विधेयक बहुमतले पारित भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको बैठकमा दफाबार छलफलपछि निर्णयार्थ प्रस्तुत गरेका थिए । संसदमा उक्त विधेयकका पक्षमा बहुमत रहेको बताउँदै सभामुख सापकोटाले बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

त्यस्तै आजको बैठकमा राष्ट्रिय ऋण उठाउने विधेयक २०७८ को बारेमा समेत छलफल भइरहेको छ । उक्त विधेयक समेत पारित हुने छ ।

गत भदौ २३ गते बुधबारबाट सुरु प्रतिनिधि सभाको नवाैँ बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर अवरोध गर्दै आइरहेको छ ।