मोरङमा प्रधानाध्यापक श्रेष्ठको हत्यामा संलग्न विप्लव नेकपाका जिल्ला इन्चार्ज समातिए

मोरङमा प्रधानाध्यापक श्रेष्ठको हत्यामा संलग्न विप्लव नेकपाका जिल्ला इन्चार्ज समातिए

काठमाडौं । प्रहरीले नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मोरङ जिल्ला इन्चार्जलाई हतियार सहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले सङ्खुवासभा मादी नगरपालिका वडा नम्बर ४ ओखरबोटे बस्ने ३२ वर्षीय डीबी सिलवाल भन्ने धनबहादुर बिकलाई नियन्त्रणमा लिएको डीएसपी मानबहादुर राईले जानकारी दिए। 

उनले मोरङ जिल्लाका उद्योगी व्यवसायीहरूलाई धम्काई चन्दा रकम असुल्ने लगायतका अन्य गतिविधि गरिरहेको सूचना प्राप्त भएकोले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। पक्राउपछिमात्रै उनी मोरङ जिल्ला इन्चार्ज समेत रहेको खुलेको हो। शरीर खानतलासी गर्ने क्रममा उनको साथमा अटोमेटिक पेस्तोल समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै उनी मङ्सिर २३ गते मोरङ मिक्लाजुङ्ग गाउँपालिका वडा नम्बर १ बर्खे बस्ने शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न भएको समेत प्रहरीले जानकारी दिएको छ। 'घटनाको अनुसन्धानमा संलग्नता देखिएको छ। थप अनुसन्धान भइरहेको छ,' डीएसपी राईले भने।

शिक्षकको धारिलो हतियारले घाँटी रेटेर हत्या भएको थियो। सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक रहेका ५२ वर्षीय राजेन्द्र श्रेष्ठको विप्लव समूहले घरबाट जङ्गलमा लगेर हत्या गरेको बताएको छ। प्रहरीले हातहतियार खरखजाना कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ।