काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक बुधबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको संसद सचिवालयले जनाएको छ।
बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोरमैला व्यवस्थापन विधेयक,२०८३ प्रस्तुत गर्न अनुमति माग्ने र सोही प्रस्ताव बैठकमा प्रस्तुत गर्ने कार्यसूची छ।
यसैगरी अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ। मन्त्री वाग्लेले भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन ) विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
बैठकमा कृषि ,वन तथा पर्यावरण मन्त्री गिता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशु रोग (नियन्त्रण) विधेयक,२०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।