काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘नष्ट’ गर्न सक्ने चेतावनी दिएको केही समयमै अमेरिकी र इरानी अधिकारीबीच करिब तीन घण्टा वार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको महासभाका लागि विश्व नेताहरू भेला भएका बेला भएको यो अप्रत्याशित भेटले दुई मुलुकबीच कूटनीतिक संवादको सम्भावना देखाएको छ।
राष्ट्रपति ट्रम्पका प्रमुख दूत स्टिभ विटकफ र जारेड कुसनरले मङ्गलबार महासभाका क्रममा इरानी अधिकारीहरूसँग भेट गरेका थिए। वार्ताबारे विस्तृत जानकारी नदिई ट्रम्पले भेटलाई ‘निकै राम्रो’ भएको बताए। यद्यपि, उनले सहभागी इरानी अधिकारीहरू उच्च तहका भने नरहेको जनाए।
विटकफले सामाजिक सञ्जाल एक्समार्फत मध्यस्थकर्ताको सहयोगमा दुवै टोलीबीच वार्ता भएको जानकारी दिएका हुन्। उनले यो संवाद रचनात्मक र आशाजनक हुने अपेक्षा व्यक्त गरे। जुनमा भएको छोटो अवधिको युद्धविराम भङ्ग भएपछि अमेरिका–इरान संवाद कमजोर बनेको थियो। जुलाईको सुरुआतमा दुवै पक्षका वार्ताकारले कतार र पाकिस्तानका मध्यस्थकर्तासँग दोहामा अप्रत्यक्ष वार्ता गरेका थिए।
यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले राष्ट्रपति ट्रम्प इरानी राष्ट्रपति मसुद पेजेस्कियानसँग भेट गर्न तयार रहेको बताएका थिए। उनले समस्या समाधानका लागि सम्बन्धित पक्षसँग संवाद गर्नु महत्त्वपूर्ण हुने उल्लेख गरे।
राष्ट्रपति ट्रम्पले खाडी सहयोग परिषद्का सदस्य राष्ट्रहरू—बहराइन, कुवेत, ओमान, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका नेताहरूसँग पनि इरान युद्धबारे छलफल गरे। महासभालाई सम्बोधन गर्दै उनले इरानलाई हर्मुज जलघाँटी पुनः पूर्ण रूपमा खुलाउन र युद्ध अन्त्यको उपाय खोज्न वार्तामा फर्कन आग्रह गरे।
तर सम्झौता हुन नसके इरानविरुद्ध थप कडा कदम चाल्ने चेतावनी दिँदै उनले आफूले ‘ठूलो निर्णय’ गर्नुपर्ने बताए। इरानलाई पुनर्निर्माणको अवसर दिने वा इस्लामिक गणतन्त्रलाई नष्ट गरेर भविष्यमा पुनः आक्रमण गर्न नदिने विकल्प रहेको उनको भनाइ थियो। ट्रम्पको सम्बोधनका क्रममा अधिकांश इरानी प्रतिनिधिमण्डल सभाकक्षबाट बाहिरिएका थिए।
राष्ट्रपति ट्रम्पले महासभामा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई सत्ताबाट हटाउन यस वर्ष गरिएको अमेरिकी सैन्य कारबाही तथा ग्रिनल्यान्डमा अमेरिकी सैन्य उपस्थिति विस्तार गर्ने नयाँ सुरक्षा सम्झौताको पनि उल्लेख गरे। उनले डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सन र ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनसँग सम्झौतामा हस्ताक्षर गरे। सम्झौताअनुसार ग्रिनल्यान्ड डेनमार्ककै भूभाग रहनेछ।
उनले बेलायत, जापान, दक्षिण कोरिया र युक्रेनका नेताहरूसँग पनि भेटवार्ता गरे। भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजसँगको भेट भने मदुरोलाई सत्ताबाट हटाउने अमेरिकी सैन्य कारबाहीपछिको पहिलो भेट थियो।
महासभामा इरान युद्ध मुख्य विषय बनेको छ। राष्ट्रपति ट्रम्पले गत वर्ष इरानका तीन प्रमुख आणविक केन्द्रमा अमेरिकी आक्रमणपछि त्यहाँको आणविक क्षमता ध्वस्त पारिएको दाबी गरेका थिए। यसपटक पनि उनले इरानबाट उत्पन्न आणविक जोखिमलाई सम्बोधन गर्नुपर्ने बताए।
अमेरिका र इजरायलको सैन्य कारबाहीमा इरानका केही शीर्ष नेता मारिएको तथा उसको हवाई र नौसैनिक क्षमतामा ठूलो क्षति पुगेको अमेरिकी पक्षको दाबी छ। अमेरिकी प्रतिबन्ध र इरानी तेलमाथिको नाकाबन्दीले तेहरानमाथि आर्थिक दबाब बढाएको छ भने युद्धका कारण ऊर्जा बजार र तेलको मूल्य प्रभावित भएको छ।
यसैबीच, राष्ट्रपति ट्रम्पले रुस–युक्रेन युद्धप्रति पनि निराशा व्यक्त गर्दै युद्ध अन्त्य हुने अपेक्षा दोहोर्याए। उनले युक्रेनले रुसी तेल प्रशोधन केन्द्रमा गरिरहेको आक्रमण र रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा गरिरहेको आक्रमणले विश्वव्यापी तेल बजारमा अस्थिरता बढाएको बताए।
रुसलाई लक्षित नयाँ प्रतिबन्धसम्बन्धी कानूनले रुसी तेल वा प्राकृतिक ग्यासका प्रमुख पाँच आयातकर्तामाथि आवश्यक परे शतप्रतिशतसम्म अतिरिक्त शुल्क लगाउने अधिकार दिएको उनले बताए। “आवश्यक परेमा मैले ती प्रयोग गर्नुपर्नेछ”, उनले भने, “यो हत्या रोक्ने समय हो।”