स्वदेशमै रोजगारी सिर्जना गर्न १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्दैछौँ: मन्त्री यादव

स्वदेशमै रोजगारी सिर्जना गर्न १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्दैछौँ: मन्त्री यादव

काठमाडौं।  युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आन्तरिक रोजगारी प्रवर्धन गर्दै स्वदेशमै अवसर सिर्जना गर्न सरकारले यसै वर्ष १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताएका छन्।

बुधबार मन्त्रालयमा आयोजित ‘सीप तथा रोजगार मेला २०८३’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले रोजगारदाता र रोजगारी खोजीकर्ताबीचको ‘मिसम्याच’ हटाउन एकीकृत प्लेटफर्म निर्माण गरिएको जानकारी दिए।

आन्तरिक रोजगारी लामो समयदेखि उपेक्षित अवस्थामा रहेकाले यसलाई पुनर्जीवित गर्न मन्त्रालय लागिपरेको मन्त्री यादवको भनाइ थियो। उनले २०७१ सालमा बनेको राष्ट्रिय रोजगार नीति ऐन, नियमावली र कार्यविधिको अभावमा कार्यान्वयनमा आउन नसकेको बताउँदै अहिले ‘राष्ट्रिय रोजगार नीति २०८३’ र ‘राष्ट्रिय रोजगार ऐन’ ल्याउन मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने अन्तिम तयारी भइरहेको स्पष्ट पारे। यसै वर्ष ‘जब म्याचिङ’ मार्फत १ लाख युवालाई रोजगारीमा जोड्ने लक्ष्यसहित प्रधानमन्त्रीसमक्ष कार्यसम्पादन सम्झौता भइसकेको समेत उनले जानकारी दिए।

आयोजित सीप तथा रोजगार मेलामा युवाहरूले करिअर काउन्सिलिङ र मोटिभेसनका साथै एआई, ईभी रिपेयरिङ र एसी रिपेयरिङ जस्ता ७ दिने छोटो अवधिका व्यावहारिक सीपहरू सिक्न पाउनेछन्।

मेलामा सहभागी उद्योगी तथा व्यवसायीहरूबाट हजारौँको संख्यामा भ्याकेन्सीको माग आएको बताउँदै मन्त्री यादवले यस मेलालाई हरेक वर्ष निरन्तरता दिने गरी संस्थागत गरिएको उल्लेख गरे। साथै, सरकार एक्लैले रोजगारी सिर्जना गर्न नसक्ने भएकाले निजी क्षेत्र र गैरसरकारी संस्थासँगको सहकार्यलाई प्राथमिकता दिइने उनको भनाइ थियो।

छुटाउनुभयो कि ?