गण्डकीका मुख्यमन्त्रीविरुद्ध पनि अविश्‍वासको प्रस्ताव ल्याउने तयारी

गण्डकीका मुख्यमन्त्रीविरुद्ध पनि अविश्‍वासको प्रस्ताव ल्याउने तयारी

पोखरा । गण्डकी प्रदेशमा पनि नयाँ सरकार गठन गर्ने कसरतमा नेकपाको प्रचण्ड–नेपाल समूह जुटेको छ । प्रचण्ड–नेपाल समूहका सांसद दीपक कोइराला मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याई नयाँ सरकार गठन गर्न प्रतिपक्षी दलहरूसँगको छलफलमा छन् ।

उनी संसद्को अर्थ तथा विकास समिति सभापतिसमेत हुन् । ‘हाम्रो पक्षले मात्रै अविश्वासको प्रस्ताव ल्याउने सम्भावना रहेन, समर्थन फिर्ता गर्ने सम्भावनाचाहिँ छ,’ उनले भने, ‘कांग्रेससँग कुरा भइरहेको छ, ठोस निष्कर्ष आइसकेको छैन ।’

गण्डकीमा ओली समूहका २७, दाहाल–नेपालका १३, कांग्रेसका १५, राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ गरी ६० सांसद छन् । प्रतिपक्षी दलका २० सांसदसँग नयाँ सरकार गठन गर्ने विषयमा छलफललाई तीव्र बनाएको कोइरालाले बताए । उनका अनुसार दाहाल–नेपाल समूहका सांसदको भेला सोमबार डाकिएको छ ।

शनिबार भएको दाहाल–नेपाल समूहको प्रदेशस्तरीय बैठक भने यस विषयमा टुंगोमा पुग्न सकेन । नेकपाको प्रदेश अध्यक्ष रहेका हितराज पाण्डेले केन्द्रमा पार्टीबीच हुने सहकार्यले पनि प्रदेश समीकरणमा अर्थ राख्ने बताए ।