यस्तो छ आजको मौसम पूर्वानुमान, मनसुन बाहिरिन अझै एक साता लाग्ने

यस्तो छ आजको मौसम पूर्वानुमान, मनसुन बाहिरिन अझै एक साता लाग्ने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल बंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ ।

विभागका अनुसार बिहीबार दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का थोरै स्थानहरूमा हल्का वर्षा र बाँकी प्रदेशका एकदुई स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको छ ।

नेपालबाट मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ । मनसुन पश्चिमी भूभागबाट बाहिरिने क्रम शुरु भई सकेको मौसमविद् निराजन सापकोटाले बताए । “पश्चिमी भूभागबाट बाहिरिन शुरु भएको मनसुन पूर्वी भूभागसम्म पुग्न एक हप्ता लाग्नेछ”, उनले भने । उनका अनुसार मनसुन पश्चिमी भूभागबाट शुरु भई पूर्वी भूभागबाट अन्त्य हुनेगर्छ ।