पोर्न भिडियो सेयर गरेको आरोपमा  १२ नेपाली पक्राउ

पोर्न भिडियो सेयर गरेको आरोपमा  १२ नेपाली पक्राउ

मकाउ । मकाउमा एक बालिकाको पोर्न भिडियो सेयर गरेको आरोपमा फेरि १२ जना नेपाली पक्राउ परेका छन्। सोमबार काम गरिरहेको होटल र कोठा–कोठा पुगेर उनीहरूलाई पक्राउ गरेको र बयान लिएर तारेखमा छाडेको प्रहरी अधिकारीले जनाएका छन्।

पुरुषले एक बालिकासँग यौन सम्पर्क गरिरहेको २ मिनेट २९ सेकेण्ड लामो भिडियो आफ्ना साथी र अरुलाई पनि फेशबुक म्यासेन्जरबाट सेयर गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । बालिकाको यौन भिडियो सेयर गरेको आरोपमा मकाउमा नेपाली पक्राउ परेको यो तेस्रो पटक हो। एक महिनाअघि भदौमा यही आरोपमा पक्राउ परेका ११ जना अझै तारेख धाइरहेका छन् भने छुट्टै पक्राउ परेका दुई जना पनि कानुनी कारबाहीको दायरामा छन्।

भदौमा पक्राउ परेका ११ जनालाई चार दिन थुनामा राखेर छोडिएको थियो। अहिलेसम्म यो आरोपमा पक्राउ परेका २५ जना सबै २१ देखि ४७ वर्ष उमेरका छन्। एसियाकै ठूलो क्यासिनो र मनोरन्जन केन्द्र मकाउ यौन गतिविधिका मामिलामा तुलनात्मक रुपमा खुला भएपनि बालबालिकासँग सम्बन्धित यौन क्रियाकलापको विषयमा यहाँको कानुन निकै कडा छ।