तेजाब छ्याप्नेलाई २० वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना

तेजाब छ्याप्नेलाई २० वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना

काठमाडौं । सरकारले तेजाब छ्याप्नेलाई कडा कानुनको व्यवस्था लागु गर्ने तयारी गरेको छ । तेजाब पीडितका लागि फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेशमार्फत नयाँ कानून ल्याएको हो । सरकारले ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७’ मन्त्रिपरिषद्बाट पास गर्ने तयारी गरेको हो । मन्त्रिपरिषद्ले पास गरेको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा आएको यो अध्यादेशमा प्रमाण ऐन २०३१ को दफा (६) को खण्ड (छ) पछि खण्ड (ज) थपिएको हो । खण्ड (ज) मा कुनै व्यक्तिले अर्को व्यक्तिको शरीरमा तेजाव फ्याकेमा, छर्किएमा, खन्याएमा वा अन्य कुनै किसिमको कसैको शारीरिक क्षति हुने गरी प्रयोग गरेमा वा कसैलाई सेवन गराएमा निजले नियतवस वा जानी–जानी त्यस्तो व्यक्तिको ज्यान लिने वा अंगभंग गराउने काम अदालतले अनुमान गर्ने उल्लेख छ ।

तेजाब बाट कुनै व्यक्तिको आँखा, कानको दुवै जालीमा क्षति भई सुन्ने शक्ति नष्ट भएमा नाक काम नलाग्ने भएमा, अनुहार पूर्ण रुपमा जले महिला कुरुप भएमा, महिलाको दुवै स्तन जली वा क्षती भई काम नलाग्ने भएमा वा कसैको यौनाङ्ग जली वा क्षति भई नासिएमा त्यस्तै व्यक्तिलाई २० वर्षसम्म जेल सजाय र १० लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

त्यस्तै कसैको एउटा आँखा, एउटा कान, आंशिक रुपमा अनुहार जली काम नलाग्ने भएमा, महिला भए उटा स्तन जली वा क्षति भई काम नलाग्ने भएमा, हुवै हात जली काम नलाग्ने भएमा, दुवै गोडा जलेर काम नलाग्ने भएमा, टाउकोको कुनै भाग जलेर क्षति भएमा त्यस्तै कसूर गर्ने व्यक्तिलाई १० देखि २० वर्ष र ७ लाखदेखि १० लाख रुपैयाासम्म जरिवानाको व्यवस्था गरिएको छ ।

त्यस्तै कुनै काम गर्दा वा त्यसको परिणामस्वरुप कसैको शरीरको अन्य अंगभंग वा शारीरिक क्षति भएमा कसूरको प्रकृति अनुसार पाँचदेखि १० वर्षकैद र एक लाखदेखि पाँच लाखसम्म जरिवानाको व्यवस्था गरिएको छ । त्यस्तै एसिड पीडितको उपचार खर्च पनि एसिड छ्याप्ने व्यक्तिले व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ ।