वस्तुलाई घाँस हाल्न गोठ गएकी बालिकाको शव निर्वस्त्र अवस्थामा मन्दिरमा भेटियो

वस्तुलाई घाँस हाल्न गोठ गएकी बालिकाको शव निर्वस्त्र अवस्थामा मन्दिरमा भेटियो

कञ्चनपुर । वस्तुभाउलाई घाँस हाल्न गोठ हिँडेकी बझाङको मस्टा गाउँपालिकाकी एक बालिकाको शव मन्दिरभित्र फेला परेको छ । मस्टा–२ खिकाला गाउँकी १२ वर्षीया सम्झना कामीको शव बुधबार साँझ फेला परेको हो ।

शरीरको तल्लो भाग निर्वस्त्र रहेको र टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा भेटिएकी उनको बलात्कारपछि हत्या भएको प्रहरीको आशंका छ । खिकाला गाउँबाट करिब १० मिनेटको दूरीमा गोठ छ । उनी राति अबेरसम्म घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो ।

उनका बाजे गोरख कामीले गोठभन्दा २ सय मिटर टाढा रहेको शिव मन्दिरभित्र शव भेटिएको बताए ।

नातिनीको शव विभिन्न ठाउँमा चोट लागेको र नाकसमेत भाँचिएको अवस्थामा फेला परेको उनको भनाइ छ । बालिकाका बाबुआमा मजदुरीका क्रममा भारतमा रहेकाले उनी दुई जना बहिनीसहित बाजेबज्यैसँग गाउँमा बस्दै आएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी रूपक खड्काले घटनास्थलको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएजस्तो देखिए पनि अहिले नै किटान गर्न नसकिने बताए । ‘हामीलाई पनि बलात्कारकै शंका छ । तर पोस्टमार्टम रिपोर्ट नआउन्जेल ठोकुवा गर्न मिल्दैन,’ उनले भने ।

एक जना शंकास्पदलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पनि उनले बताए । बालिकाको बिहीबार नै जिल्ला अस्पताल सिमखेतमा पोस्टमार्टम गरिएको छ । शुक्रबार मात्रै पोस्टमार्टम रिपोर्ट पेस गरिने अस्पतालले जनाएको छ । मृतक बालिका मस्टा गाउँकै एक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिइन् । कान्तिपुर दैनिकमा खबर छ ।