हिमपातका कारण पहाडी जिल्लाहरुमा टेलिफोन र इन्टरनेट अवरुद्ध, जनतालाई सास्ती

हिमपातका कारण  पहाडी जिल्लाहरुमा  टेलिफोन र इन्टरनेट अवरुद्ध, जनतालाई सास्ती

शुक्रबार बिहान हिमपातसँगै परेको चट्याङका कारण अवरुद्ध भएको टेलिफोन लाइन अझै सञ्चालन हुन सकेको छैन । यहाँका पहाडी जिल्ला दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा, अछाम तथा डोटीमा सञ्चार सम्पर्क जोड्नका लागि डडेल्धुराको काफलीमा निर्माण गरिएको नेपाल टेलिकमको एक्सचेन्ज टावरमा चट्याङका कारण क्षति भएपछि शुक्रबारदेखिसञ्चार सम्पर्क अवरुद्ध भएको हो ।

टेलिफोनसँगै अन्य सञ्चार सम्पर्क पनि अवरुद्ध भएपछि यहाँका पहाडी जिल्लामा आज बैंकिङ कारोवार पनि ठप्प भएको राष्ट्रिय वाणिज्य बैंक दिपायलका गणेश विष्टले बताउनुभयो । इन्टरनेट नहुँदा बैंकिङ कारोवार बन्द भए पनि सेवाग्राही बढी मर्कामा परेका दिपायल पीपल्लाका शेरबहादुर चोखालले बताउनुभयो ।

चट्याङले क्षति पु¥याउँदा अवरुद्ध भएको सञ्चार सम्पर्क सञ्चालन गर्न काफलीमा प्राविधिक टोली खटिए पनि सञ्चालन गर्न नसकिएको नेपाल टेलिकम दिपायल राजपुरको कार्यालयले जनाएको छ । त्यस्तै यहाँका पहाडी जिल्लामा शुक्रबार रातिदेखि टेलिफोन सेवा, नेपाल टेलिकमद्वारा वितरित एडिएसएल लगायतका इन्टरनेट सेवा पनि पूर्ण रुपमा अवरुद्ध भएको छ ।

त्यस्तै एडिएसएल लगायतका इन्टरनेट सेवा अवरुद्ध भएपछि यहाँका सञ्चारकर्मीले आफ्ना सञ्चारगृहमा समाचार सम्प्रेषण गर्न सकेका छैनन् । ल्यान्डलाइन टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भए पनि मोबाइल सेवा तथा हटस्पोट इन्टरनेट सेवा भने आंशिक रुपमा सञ्चालन रहेको नेपाल टेलिकम राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले बताउनुभयो ।