बाढीपहिरोले करिब ६२० मेगावाट बिजुली अवरुद्ध

बाढीपहिरोले करिब ६२० मेगावाट बिजुली अवरुद्ध

काठमाडौं । बाढी पहिरोका कारण जलविद्युत क्षेत्रमा ठूलो क्षति पुग्दा ६ सय मेगावाट भन्दा बढी विद्युत् प्रणालीबाट बाहिर भएको छ । भदौ १० गते भोटेकोशीमा आएको बाढी र असोज ८ गतेदेखि परेको वर्षका कारण विभिन्न ठाउँका जलविद्युत आयोजनाहरूमा क्षति पुगेको हो ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार बाढी पहिरोका कारण विभिन्न जलविद्युत केन्द्रहरूमा संरचनात्मक क्षति पुग्दा नेपालको विद्युत् प्रणालीबाट कुल ६२० मेगावाट विद्युत् उत्पादन बाहिरिएको हो ।

‘भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत् अवरुद्ध भएको छ । पछिल्लो समय आएको बाढीले १९० मेगावाटमा विद्युत् उत्पादन बाहिरिएको छ’, प्रवक्ता राजन ढकालले भने, ‘क्षति पुगेका केही आयोजनाहरू मर्मतपछि सञ्चालनमा आएका छन् भने केहीको मर्मत कार्य भइरहेको छ ।’

विद्युत् गृहहरूमा बाढीले क्षति पुर्‍याउँदा विद्युत् प्राधिकरण र त्यसका सहायक कम्पनीहरूतर्फ मात्रै प्रारम्भिक अनुमान अनुसार करिब ७४ अर्ब बराबरको भौतिक तथा आर्थिक क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ जानकारी दिए ।

उनका अनुसार भदौ १० गते भोटेकोशी र त्रिशुली नदीमा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशुली ३बी २२० के.भी. हबमा ठूलो क्षति पुगेको छ । यसका साथै हब र प्रसारण लाइनमा पुगेको क्षतिका कारण त्यस क्षेत्रका जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न सकिएको छैन ।

बाढीले पुर्‍याएको क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने क्रम जारी रहेतापनि सडक र पहुँच मार्गहरू अवरुद्ध भएकाले मर्मत तथा सुचारु गर्ने कार्यमा प्राविधिकहरूलाई चुनौती थपिएको उनले बताए । प्राधिकरणले क्षतिग्रस्त संरचनाको मर्मत गरी यथाशक्य छिटो विद्युत् सुचारु गराउन प्राविधिक टोली खटाएर काम गरिरहेको उनले जानकारी दिए ।

बाढी पहिरोका कारण कालिगण्डकी कोरिडोरको २२० के.भी. प्रसारण लाइन अन्तर्गत म्याग्दीको दाना–कुस्मा खण्डको टावर नं २१ र २२ मा क्षति पुगेको छ । उक्त स्थानहरू लगायत अन्य स्थानको निरीक्षण गर्न जान विभिन्न स्थानमा बाटो अवरुद्ध भएको हुँदा विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्राधिकरणका अनुसार सुखायाममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमानित कुल विद्युत् क्षमता–१२१८ मेगावाट रहेको छ । माग–आपूर्ति सन्तुलनका लागि ढल्केवर–मुजफ्फरपुर– ६०० मेगावाट, टनकपुर– महेन्द्रनगर–५४ मेगावाट, बिहारका विभिन्न बिन्दुबाट –३५० मेगावाट, आरटीसीको माध्यमबाट –१५० मेगावाट गरी कुल ११५४ मेगावाट विभिन्न प्रकृयाबाट आयात गरिने योजना रहेको छ ।

कुल विद्युत् उपलब्धता २३७२ मेगावाट हुने प्राधिकरणले अनुमान गरेको छ । अघिल्लो वर्षको सुखायामको उच्चतम राष्ट्रिय विद्युत् माग २२९२ रहेको थियो ।

छुटाउनुभयो कि ?