काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शान्ति सुरक्षाको माग गर्दै प्रहरीमा निवेदन दिएका छन् । जिउज्यानको सुरक्षा माग्दै उनको तर्फबाट छोरा सचिन्द्र जबराले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा निवेदन दिएका हुन् ।
उनका छोराले निवेदन दिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी गोविन्द थपलियाले जानकारी दिए । उनले भने, “शान्ति सुरक्षाका लागि निवेदन दिनु भएको छ । हामीले उहाँको घर आसपास निगरानी बढाएका छौँ ।”
चोलेन्द्रलाई ‘सुरक्षा थ्रेट’ रहेको भन्दै प्रहरीले आइतबार बिहान करिब ३ बजे महाराजगञ्जस्थित घरबाट नै नियन्त्रणमा लिएको थियो । उनलाई आइतबार दिउँसो नै प्रहरीले घर फर्काएको थियो । प्रहरीको नियन्त्रणबाट घर फर्किएलगत्तै प्रहरीमा निवेदन दिएका हुन् ।