काठमाडौँ । भातरबाट ग्यास बोकेको बुलेट काठमाडौं आउन सुरु गरेका छन् । अविरल वर्षा कारण विगत चार दिनदेखि पूर्ण रूपमा अवरुद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा आएसँगै काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति पुनः सहज हुने भएको छ ।
गत असोज ८ गते रातिदेखि मौसम प्रतिकूलता र बाटो अवरोधका कारण ठप्प भएको ग्यास आपूर्ति आजबाट काठमाडौं आउन थालेको छ । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रका लागि एलपी ग्यास बोकेका बुलेटहरू पृथ्वी राजमार्ग हुँदै भित्रिने गर्दछन् । उक्त मुख्य राजमार्ग नै चार दिनसम्म निरन्तर बन्द भएपछि काठमाडौंतर्फ ग्यासका बुलेटहरू आउन सकेका थिएनन् ।
पृथ्वी राजमार्ग सुचारु भएसँगै रोकिएका ग्यास बुलेटहरू आ–आफ्नो गन्तव्यतर्फ अघि बढेका छन् । नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार बाटो खुलेसँगै आज मात्रै १०५ भन्दा बढी ग्यास बुलेटहरू काठमाडौँतर्फ आउने क्रममा रहेका छन् । साँझसम्ममा यो सङ्ख्या अझै बढ्ने र बाँकी रहेका सबै बुलेटहरू भित्रिने निगमले जनाएको छ ।
प्रवक्ता ठाकुरका अनुसार बाटोबाट भित्रिएका यी ग्यास बुलेटहरूबाट भोलिदेखि नै बोटलिङ प्लान्टहरूमा ग्यास रिफिलिङ (भर्ने) काम तीव्र रूपमा अघि बढाइनेछ । ग्यास सिलिन्डरहरू सर्वसाधारण र बजारसम्म पुर्याएर सुचारु रूपमा वितरण हुने छ । मुख्य राजमार्ग खुलेर ग्यासका बुलेटहरू निरन्तर आउन थालेपछि अब बजारमा ग्यासको अभाव हट्दै जाने छ ।