शुरू भयो मलमास, के गर्न हुने, के नहुने ?

शुरू भयो मलमास, के गर्न हुने, के नहुने ?

काठमाडौं । हिन्दू परम्परानुसार मलमासको अवधिमा शुभ कार्य गर्न नहुने विज्ञले बताएका छन् ।

आज अपरान्ह ४ः५९ बजेदेखि शुरु हुने मलमास असोज ३० गते राति १ः५३ बजेसम्म रहने छ । सो अवधिमा कुनै पनि नयाँ कार्यको थालनी गर्न नहुने उनीहरूको भनाइ छ ।
 
वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख देवमणि भट्टराई मलमास र क्षयमास जस्ता समयलाई शास्त्रले शुभ कार्य गर्न वर्जित गरेको बताउँछन् ।

मलमासमा विवाह, व्रतबन्ध, पक्षअनुष्ठान, पुराणवाचन जस्ता कार्य गर्न नहुने उनको भनाइ छ । उनले भने, 'नित्य कर्महरू, नैतित्यक कर्महरू मलमासभित्र पनि गर्न सकिन्छ ।”
 
यसमा घरमा गरिने नियमित पूजापाठ, मन्दिर दर्शन, तिथि, बार या नक्षत्र मिलेर गर्ने योगहरू गर्न मिल्ने उनले बताए । मलमासको कृष्ण पक्षमा जन्मिएका वा मृत्यु भएकाको तिथि निर्धारण गर्दा एक महिना पछिको गरिन्छ ।

मलमासको समयमा विवाह गरेको पहिलो वर्ष परेमा श्रीमान् श्रीमती सँगै बस्न नहुने प्रचलन रहेको छ ।

भट्टराईले भने, “दोस्रो, तेस्रो वर्ष परेमा बार्नु पर्दैन । ” धार्मिक, सांस्कृतिक अध्येता डा. गुरुप्रसाद सुवेदी मलमासमा गृहस्थ जीवन शुरू गर्न नहुने बताउँछन् ।

उनका अनुसार विशेष संस्कारका कर्महरू, नान्दीमुखी श्राद्ध गरेर सम्पन्न गरिने सप्ताह जस्ता ठूला यज्ञ र मन्दिरको प्रतिष्ठा कर्म गर्न  हुँदैन ।

मलमास चन्द्रमाको गति अनुसारको महिनाभित्र सूर्यको संक्रान्ति परेन भने यो एउटा अधिकमास हो । यसलाई मलमास भनिन्छ । 

अधिकमास प्रत्येक तीन वर्षमा एकपटक आउँछ । प्रत्येक राशि, नक्षत्र, महिना आदिका स्वामी छन् तर अधिक मास अर्थात् मलमासको स्वामी छैनन् ।

यसकारण अधिकमासमा सम्पूर्ण शुभ, देव एवं पितृ कार्य वर्जित मानिएको उनको भनाइ छ ।