काठमाडौंका चारसहित थप ११ जनाको कोरोनाबाट मृत्यु

काठमाडौंका चारसहित थप ११ जनाको कोरोनाबाट मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार थप ११ जनाको मृत्यु भएको हो। योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ७१ पुगेको छ।

संक्रमणबाट काठमाडौंमा ८६ वर्षीया महिलासहित चार जनाको मृत्यु भएको छ। पुरूषमा काठमाडौंका ३४ वर्षीय, ९६ वर्षीय र ६६ वर्षीय छन्। यस्तै, सर्लाहीका ६४ वर्षीय, मकवानपुरका ६१ वर्षीय, कपिलवस्तुका ५८ वर्षीय र बाराका ५५ वर्षीय पुरूषको मृत्यु भएको छ।

सिराहाकी ३५ वर्षीया, बाराकी ५५ वर्षीया र रूपन्देहीकी ६४ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ४ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबारमात्रै एक हजार ६२ जना निको भई घर फर्किसकेका छन्। यससँगै निको हुनेको संख्या ४० हजार ६ सय ३८ पुगेको छ।