विवादास्पद ओम्नी समूह एक वर्षका लागि कालोसूचीमा

विवादास्पद ओम्नी समूह एक वर्षका लागि कालोसूचीमा

काठमाडौं । विवादास्पद स्वास्थ्य उपकरण खरिद प्रक्रियामा सहभागी भएको ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले एक सूचना प्रकाशित गर्दै ओम्नीलाई एक वर्षसम्म अन्य खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको हो ।

सरकारले ओम्नीलाई कालोसूचीमा नराख्ने मनसाय देखाएपछि चौतर्फी दबाब परेको थियो । ओम्नीलाई कालोसूचीमा पर्न नदिन राजनीतिक रुपमा चलखेल भएपनि संसदीय समितिहरुले पनि कालोसूचीमा नराखिएकोबारे चासो दिएका दिए । सार्वजनिक खरिद अनुगमनको कार्यालयले स्वास्थ्य सेवा विभागको सिफारिसमा सोमबारबाट लागू हुने गरी ओम्नीलाई कालोसूचीमा राखेको जानकारी दिएको छ ।

स्वास्थ्य सेवा विभागले गत चैत १९ गते ओम्नीसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको थियो । कोरोना भाइरसको संक्रमण देखिएसँगै विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन यो समूहसँग सम्झौता गरेको थियो । तर, बिना प्रतिस्पर्धा निकै महंगो मूल्यमा उपकरण खरिदको सम्झौता गरिएको भन्दै सरकारको आलोचना भयो ।