बँदेललाई थापेको पासोमा परेर एक जनाको परेर मृत्यु

बँदेललाई थापेको पासोमा परेर एक जनाको परेर मृत्यु

नवलपरासी । बँदेल मार्न थापिएको करेन्टको पासोमा परी नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा एकको मृत्यु भएको छ ।

घर नजिकैको जङ्गलबाट आउने बँदेलले धानबाली नष्ट गरेको भन्दै बँदेल मार्न थापेको पासोमा परी रामग्राम नगरपालिका–१४ पर्सावलका ५५ वर्षीय होमनारायण यादवको मृत्यु भएको हो ।

शुक्रबार राति घरबाट निस्केका श्रीमान् हराएको भनी यादवकी श्रीमती सोनियाले खोजतलासका लागि प्रहरीमा निवेदन दिएपछि प्रहरीले खोजतलास शुरू गरेको थियो ।

खोजतलासका क्रममा  यादवसँगै अन्य चार जना मिलेर पासो थापेको र उनको मृत्यु भएपछि चारै जना फरार भएको पत्ता लागेपछि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।

फरारमध्ये दुई जनालाई प्रहरीले गए राति रुपन्देहीबाट नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ ।

पक्राउ परेका सोही गाउँका बाबुराम चौधरी र मोहन चौधरीले यादवको पासोमा परी मृत्यु भएपछि घटनास्थलभन्दा केही पर कुलामा खाल्डो खनेर शव पुरेको बयान दिएका थिए ।

प्रहरीका अनुसार शुक्रबार राति उनीहरु पाँचै जनाले पासो थापेर घर गएको र बँदेल परेपछि खबर गर्ने जिम्मा यादवकै थियो ।

अबेरसम्म पनि यादवले जानकारी नदिएपछि पासो थापेको ठाउँमा आफूहरु पुग्दा यादव मृत फेला परेपछि खाल्डो खनेर पुरिएको पक्राउ परेकाहरुले बताएको डिएसपी लामाले बताए ।