गोंगबु घटनालाई माथ दिने भक्तपुर घटना, कसले गर्‍यो एकै परिवारका ३ जना र कुकुर समेतको हत्या ?

गोंगबु घटनालाई माथ दिने भक्तपुर घटना, कसले गर्‍यो एकै परिवारका ३ जना र कुकुर समेतको हत्या ?

भक्तपुर । मध्यपुरथिमि नगरपालिका –९ निकोसेरास्थित एकै परिवारका तीन जनाको हत्या गरेका अवस्थामा शुक्रवार शव फेला परेको छ ।

महानगरीय प्रहरी वृत्त थिमिदेखि करीब ७०० मिटर पर निकोसेराबाट सिन्टिटार जाने सडकमै रहेको चारतले घरमा कुकुरसहित सुदीप अधिकारीको परिवारका सदस्यको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

आफ्नै घरको चौथो तलाको भान्छाबाट कौसी निस्कने ठाउँमा ३६ वर्षीय  अधिकारी, दोस्रो तलाको ओछ्यानमा श्रीमती ३४ वर्षीया सम्झना र तेस्रो तलाको कोठाको ओछ्यानमा १५ वर्षीय छोरा सुशान्तको शव रहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।

दोस्रो तलाको भर्‍याङनजिकै कुकुरसमेत मरेका अवस्थामा भेटिएको बताइएको छ  ।

शुक्रवार करीब ४ बजे मृतकका भाइ सुनिलले आफू दाजुका घरमा आइपुग्दा तीन शव फेलापछि प्रहरीलाई खबर गरेका थिए ।

उनका अनुसार घरको पहिलो तलादेखि माथिका सबै तलाका ढोका चुकुल नलगाएको र अलिकति खुला अवस्थामा थिए ।

मृतकको घरसंँगै बस्ने लक्ष्मी लामाले तीन दिनदेखि उक्त घरका सदस्य बाहिर ननिस्किएको जानकारी दिइन् ।

तीन दिनअघिसम्म अधिकारी परिवारले किराना पसल खोलेको र दिउँसोदेखि बन्द रहेको जानकारी दिँदै उनले लकडाउनका कारण पसल बन्द गरेर बाहिर ननिस्किएको हो कि भन्ने आफूलाई लागेको बताइन् ।

मृतकको अवस्था र शव गन्हाएकाले घटना केही दिन अगाडि भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र  अपराध अनुसन्धान महाशाखाको अनुसन्धानविज्ञ टोलीले राति साढे ८ बजेपछिसम्म घटनास्थलमै रहेर अनुसन्धान गरेको छ ।

महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक  दीपक थापाले घरका तीन जनाको शङ्कास्पद मृत्यु भएको पाइएको जानकारी दिए ।

उनका अनुसार कुनै धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएन । अनुसन्धान जारी रहेकाले अहिले नै यही हो भनेर भन्न सकिँदैन । रासस