उपत्यकाका सिडियोहरुले निषेधाज्ञा थप्नेबारे गरे यस्तो निर्णय

उपत्यकाका सिडियोहरुले निषेधाज्ञा थप्नेबारे गरे यस्तो निर्णय

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भोलि राती १२ बजेबाट सकिँदैछ ।  निषेधाज्ञा थप गर्ने या नगर्न विषयमा अन्यौल छाइरहेको बेला उपत्यका अन्तर्गत तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले भने संयुक्त बैठक गरेका छन् । उपत्यकामा दैनिक कोरोना संक्रमण बढदै गइरहेको र भयावह स्वरुप लिन सक्ने भएकोले गृहमन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञाको घोषणा गरेका थिए । 

अब निषेधाज्ञालाई पुनः निरन्तरता दिने या नदिने भन्ने विषयमा भने पुनः गृह मन्त्रालयलाई नै निर्णय गर्न दिने निष्कर्शमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु पुगेका छन् । मंगलबार काठमाडौंका प्रजिअ जनकराज दाहाल, ललितपुरका प्रजिअ नारायणप्रसाद भट्ट र भक्तपुरकी प्रजिअ हुमकला पाण्डेले भर्चुअल मिटिङ बसेर सुझावसहितको निर्णय गृहसचिव महेश्वर न्यौपानेलाई पठाउने तयारी गरेका हुन ।

तीनवटै प्रशासनले निषेधाज्ञालाई निरन्तरता दिने नदिनेबारे आ–आफ्ना जिल्लाका स्थानीय तह, स्वास्थ्य कार्यालयसहित स्वास्थ्य मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायत सरोकार निकायसँग लिखित राय लिइसकेका छन् । उद्योग मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड अपनाएर उद्योग कलकारखाना सञ्चालन गर्नुपर्ने राय दिएको छ । तर, स्थानीय तहहरुले अझै केही साता निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने सुझाव दिएका छन् ।