कोरोना संक्रमित बढ्दै गएपछि निषेधाज्ञा १२ दिन थपियो

कोरोना संक्रमित बढ्दै गएपछि निषेधाज्ञा १२ दिन थपियो

सिरहा । कोरोना संक्रमित बढ्दै गएपछि सिरहामा लगाइएको निषेधाज्ञा १२ दिनका लागि थप गरिएको छ । सिरहामा भदौ २७ गतेसम्मका लागि निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालयद्वारा आज जारी सूचनामा उल्लेख छ । 

प्रशासनले भदौ एक गते राति १२ बजेदेखि लागू गरेको निषेधाज्ञा सोमबार राति १२ बजेबाट सकिँदै थियो । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक प्रदीपराज कँडेलको अध्यक्षतामा बसेको बैठकले निषेधाज्ञाको समय थप गर्दै अझ कडाइ गर्ने निर्णय गरेको हो । 

निषेधाज्ञामा यसअघि बिहान ५ देखि ९ बजेसम्म खाद्यान्न किनमेलको समय दिइएकाले त्यसलाई नै निरन्तरता दिएको प्रजिअ कँडेलले जानकारी दिए । निषेधाज्ञा अवधिमा सार्वजनिक भेला गर्न, मेला लगाउन, भोज वा जमघट गर्न पूर्ण रुपमा बन्देज गरिएको छ । यस्तै आआफ्नो धार्मिक पर्व घरभित्रै गर्न भनिएको छ ।