जर्मन चान्सलरको चिन्ता– 'जाडो लागेपछि कोरोनाको महामारी थप जटिल बन्ने खतरा छ'

जर्मन चान्सलरको चिन्ता– 'जाडो लागेपछि कोरोनाको महामारी थप जटिल बन्ने खतरा छ'

बर्लिन । आउँदो शरद र शिशिर यामका महिनाहरूमा कोरोनाभाइरसविरूद्धको लडाई थप चुनौतीपूर्ण हुनसक्ने जर्मनीका चान्सलर एन्जेला मर्केलले शुक्रवार बताएकी छन् ।

“गर्मीमा भन्दा आगामी केही महिना महामारीले थप चुनौती सिर्जना गर्ने देखिएको छ । हामी सबैले ग्रीष्म ऋतुमा मौसमका कारण तुलनात्मक रूपमा केही स्वतन्त्रता र सापेक्षिक सुरक्षाको आनन्द उठायौँ, जुन जीवन न्यानोमा सम्भव छ,” चिसो हावाबाट फैलिने सूक्ष्म कणहरूलाई संकेत गर्दै उनले भनिन् ।

जर्मनीका १६ संघीय राज्यका नेताहरूसँग शुक्रबार छलफल गरेपछि उनको महामारी आगामी दिनमा थप जटिल हुनसक्ने धारणा आएको हो ।

“हामीले यस भाइरसको साथ लामो समय सम्म बाँच्नुपर्नेछ । यो अझै गम्भीर अवस्थामा रहेको छ अर्थात् नियन्त्रणमा आउन सकेको छैन । कृपया यसलाई गम्भीरतापूर्वक लिनुहोस्,” मर्केलले भनिन् ।

जर्मनीमा मंगलबार थप एक हजार ५७१ सङ्क्रमित भएसँगै कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ३९ हजार ५०७ पुगेको रोबर्ट कोच इन्स्टिच्युटले बताएको छ ।

जर्मनीमा हालसम्म नौ हजार २८८ कोभिड–१९ सङ्क्रमित व्यक्तिको मृत्यु भइसकेको छ ।