बुटवल । बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्य सोमबार वडा नं १३ को होम आइसोलेशनमा बसेका रुद्र आचार्यको घरमा पुगिन् । कोरोना भाइरस सङ्क्रमणका कारण होम आइसोलेशनमै बसेको उनको परिवारको मनोबल बढाउन उपप्रमुख दैलामा आएपछि आचार्य छक्क परे । उपप्रमुख आचार्यले उनलाई उच्च मनोबल राख्न सके कोरोना भाइरस सङ्क्रमणले कुनै असर नगर्ने भन्दै उनको परिवारलाई सुस्वास्थ्यको शुभकामना दिइन् ।
“कोरोना लागेको भनेर मानिसहरु टाढाटाढा भाग्छन्, दैलोसम्म आउने आँट कसैले गर्दैनन् तर उपप्रमुख दैलोमै आएर कस्तो छ भनेर सोध्दा साह्रै खुशी लाग्यो”, सङ्क्रमित आचार्यले भने । आचार्यले कोरोना भाइरस सङ्क्रमण भएपछि सामाजिक सञ्जालमै राखेर टोलवासीलाई सचेत रहन अनुरोध गरिन् ।
एक हप्तादेखि उपमहानगरका विभिन्न वडामा प्रमुख शिवराज सुवेदी, उपप्रमुख आचार्य र वडाका प्रतिनिधि कोरोना सङ्क्रमितको मनोबल बढाउन घरघरमा पुगेका छन्। यो अभियानले कोरोना सङ्क्रमितको मनोबल बढेको मात्रै होइन, सङ्क्रमितलाई दुव्र्यवहार गर्न खोज्ने, सहयोग नगर्ने तथा सङ्क्रमितका कुरा काटेर बस्नेहरुको मुखसमेत बन्द भएका छन् । जनप्रतिधिहरु आएपछि छरछिमेकीको माया र सद्भाव झन् बढेको सङ्क्रमितको प्रतिक्रिया छ ।
बुटवल ११ का सङ्क्रमित परिवारलाई नियमित दूध दिंँदै आएका एक व्यक्तिले सङ्क्रमित भएको थाहा पाएकै दिनदेखि दूध ल्याइदिन छाडे । छेउछाउका घरमा फोन गरेर सङ्क्रमितका दुवै घरमा ताला लगाइदिन, घरमा बस्न नदिन तथा छरछिमेकलाई नजिक नजानसमेत दबाब दिए । यसका कारण छिमेकी पनि दोधारमा परे तर जब नगर प्रमुख र उपप्रमुख सहितको टोली घरदैलोमा पुगेर सङ्क्रमितलाई भेट्नुभएपछि छिमेकीको माया र सद्भाव झन् बढ्यो । “नजिकैका छिमेकीहरुको व्यवहार त एकदम राम्रो थियो बरु अलिक पर बस्ने व्यक्तिहरुले राम्रो व्यवहार गर्न खोजेनन् तर प्रमुख–उपप्रमुखको घरदैलोले निकै सकारात्मक सन्देश दियो”, एक सङ्क्रमितले भने ।
नगर प्रमुख र उपप्रमुखको यो अभियानले नजिक आउन नखोज्ने, हेय भाव राख्ने र असहयोग गर्नेहरुलाई ठूलो शिक्षा दिएको अनुभव सङ्क्रमितका परिवारले गरेका छन् । “अरु बेला नभ्याए पनि दुःख पर्दा आए, हाम्रो लागि त्यही नै ठूलो कुरा हो”, आफूले मतदान गरेका जनप्रतिनिधि घरदैलामा आएको देखेर आँखाभरि खुशीका आँशु झार्दै बुटवल १३ का सङ्क्रमितले भने ।
यही भदौ ५ गते हिन्दू नारीको चाड हरितालिकाका दिनमा समेत उपमहानगरपालिकाले सञ्चालन गरेको एन्फा आइसोलेशन सेन्टरमै पुगेर उपप्रमुख आचार्यले शुभकामना आदानप्रदान गरिन् । “चाडको दिनमा आइसोलेशनमै आएर शुभकामना दिनुभयो, हामी अत्यन्तै उत्साहित भयौँ । हामीप्रति उहाँले देखाउनु भएको स्नेह, माया र सद्भावनाले हौसला प्रदान गरेको छ”, वडा नं १३ का सङ्क्रमित दीपक पन्थीले सामाजिक सञ्जालबाटै उपप्रमुखलाई धन्यवाद दिए ।