अस्पतालको बेडबाट कोरोना संक्रमित नर्सको पत्र: 'रहरले रोग सारेकी होइन, समाजको नजर राम्रो होस्'

अस्पतालको बेडबाट कोरोना संक्रमित नर्सको पत्र: 'रहरले रोग सारेकी होइन, समाजको नजर राम्रो होस्'

म एक नर्स। आफ्नो पेशामा गर्व गर्छु। मलाई थाहा छ- मैले केवल प्रमाणपत्रका लागि मात्र पढेकी होइन। जस्तोसुकै अवस्थामा पनि बिरामीको सेवा गर्न सकूँ र गर्छु भनेर नर्स पेशा अँगालेकी हुँ। आफ्ना व्यक्तिगत कुराहरुलाई त्यागेर निरन्तर रुपमा बिरामीको सेवामा लागिरहेको पनि केही वर्ष भैसकेछ। काम गर्दै गर्दा यो अवस्था आउला भन्ने सोचेका पनि थिएनौँ।

तर एक्कासि संसारलाई नै तर्साउने गरी कोरोनाभाइरस फैलियो। कैयौं देशमा हजारौं नागरिकको ज्यान गयो। बिस्तारै अवस्था जटिल बन्दै गयो। बिस्तारै संक्रमितहरु नेपालमा पनि देखिन थाल्यो। तर कहिल्यै हतोत्साहित नभै निरन्तर आफ्नो कर्ममा लागिरहें । म एक जना नर्सले गार्हो हुने भयो, म संक्रमित हुन्छु कि भनेर आफ्नो काम छोड्ने हो भने के हालत होला भन्ने सोचेर अग्रजहरुको सल्लाह-सुझावलाई ग्रहण गर्दै काममा लागिरहें।

घरमा बुबा, आमा, भाइबहिनीलाई आफैंले सम्झाएँ- ममा मात्र सीमित छैन बाबा-ममी। मैले समाजका लागि काम गर्नुपर्छ। यतिखेर घरमा काम नगरी बस्ने हो भने मैले नर्स पेसा अँगालेको अर्थ हुँदैन, नआतिनू। म सुरक्षित भएर बिरामीको सेवा गर्नेछु।

कैयौं रात बाबा-ममी निदाउनुभएको छैन, कतै छोरी संक्रमित त हुने होइन? भोलि समाजले के भन्ला? छिःछि र दूर दूर गर्ला भन्ने चिन्तामा परिवार हुनुहुन्थ्यो। केही दिन अगाडि अस्पतालमा उपचार गरिरहनुभएका बिरामीमा कोरोना पोजेटिभ भयो रे भन्ने सुनें। उहाँहरुलाई सधैं हामीले रेखदेख गरिरहेका हुन्थ्यौं। एक्कासि त्यस्तो सुनेपछि एकछिन त अनेक कुरा सोच्न पुगेछु। पछि आफूलाई सम्हालें। त्यसपछि हामीलाई छुटै ठाउँमा राखियो। त्यसको पर्सिपल्ट मलगायत साथीहरुको कोरोना टेस्टका लागि स्वाब लगियो। नभन्दै हाम्रो रिपोर्ट पनि पोजिटिभ आयो। एकछिन तनावमा रहें। कसरी घरमा भन्ने होला? अब के हुने हो?

मैले आफूलाई सम्हालें। आज कमजोर महसुस गरें भने मेरो परिवारलाई चिन्ता हुन्छ। समाजलाई चिन्ता पर्छ। मैले मनोबल दह्रो बनाउनुपर्छ भन्ने सोचें। अहिले आफ्नो मनोबल उँचो बनाएर मैले यो रोगलाई परास्त गर्छु भन्ने आत्मविश्वास लिएकी छु। फेरि परास्त गर्छु पनि। आज मलाई गर्व छ। म आत्तिएकी छैन। बिरामी सेवाको कर्म पूरा गर्दा म संक्रमित भएकी हुँ। हामी संक्रमितलाई समाजले हेर्ने नजर राम्रो बनोस्। हामीले रहरले रोग सारेका हैनौं। आफ्नो जिम्मेवारी पूरा गर्दा संक्रमण भएको हो। पहिला नै हामीले डराएर बिरामीको सेवा नगरेको भए बिरामीको अवस्था के हुन्थ्यो? सबैको सोच सकारात्मक बनोस्। संक्रमित नर्स, डाक्टर, सुरक्षाकर्मीलगायत आम नागरिकलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। हाम्रो स्वास्थ्य लाभको कामना गर्नुहुने हाम्रो केयर गर्नुहुने अस्पताल प्रशासन, डाक्टर, नर्स, परिवार, साथीभाइ, आफन्तजन, समाजका सबै नागरिकप्रति अस्पतालको बेडबाट धन्यवाद व्यक्त गर्दछु। सन्चो भएपछि उही मनोबलका साथ हजारौं बिरामीको सेवा गर्नेछु। मलाई नर्स हुनुमा गर्व छ।

बाबा-मामु न आत्तिनू। हजुरकी छोरी झन् मनोबल दह्रो बनाएर रोगलाई परास्त गरेर कर्ममा फर्किन्छे।

म हारेकी छैन। ममा मनोबल झन् दह्रो भएको छ। स्वास्थ्य लाभको कामना गर्नुहुने सबैमा धन्यवाद!