काठमाडौं । युट्युबमा राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो बनाउने प्रमुख अभियुक्त ग्याल्जोम दोर्जे तामाङसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीले राष्ट्रिय झण्डा जलाएको भिडियो युट्युबमा अपलोड गरेको अभियोगमा मुख्य अभियुक्त तामाङसहित हालसम्म ९ जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।
प्रहरीले पक्राउ गरिएका उनीहरुलाई कानुनी कारवाही गरिने बताएको छ । सोमबार युट्युबमा अपलोड गरिएको सो भिडियो मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिकामा खिचिएको बताइएको छ भने सामाजिक सञ्जाल र मिडियामा तिब्ररुपमा प्रतिवाद भएको थियो ।
'देशद्रोही’ शीर्षकको उक्त गीत ‘मंगोल हप अफिसियल’ नामक च्यानलबाट सोमबार अपलोड भएको हो । गीतमा देशविरोधी आपत्तिजनक शब्दहरु प्रयोग गरिएको छ । म्युजिक भिडियोमा नेपालको झण्डा जलाइएको दृश्य समेत समावेश गरिएको छ ।
मुलुकी अपराध (संहिता) ऐन २०७४,को १५१ को दफा १ र २ अनुसार नेपालको राष्ट्रिय झण्डा जलाउने र च्यात्नेलाई तीन वर्षसम्म कैद वा ३० हजारसम्म जरिवाना वा दुवै हुने उल्लेख छ ।